वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले आज महानगरको आफ्नै कार्यकक्षमा नेपाल क्रिकेटका पूर्व कप्तान पारस खड्कासँग वीरगञ्जमा क्रिकेटको विकास र प्रवर्द्धनका विषयमा विशेष छलफल गरेका छन्।
छलफलका क्रममा नगर प्रमुख सिंहले क्रिकेट खेलकुदको पूर्वाधार निर्माण र खेलकुद गतिविधिहरूको प्रवर्द्धनमा महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस अवसरमा उनले खड्कालाई मायाको चिनो प्रदान गर्दै खादा ओढाएर सम्मान गरे।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंह, वीरगञ्ज ६ का वडाध्यक्ष प्रदीप चौरसिया, र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
पूर्व कप्तान पारस खड्काले वीरगञ्जलाई क्रिकेट खेलको हब बनाउन आवश्यक योजना र कार्यनीतिबारे सुझाव राखेका थिए। उनले युवा प्रतिभालाई प्रोत्साहन गर्न खेलकुदको विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
छलफलपछि नगर प्रमुख सिंहले खेलकुदको विकासका लागि महानगरले खेलकुद पूर्वाधार निर्माणदेखि विभिन्न कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने जानकारी दिए। यस प्रयासले वीरगञ्जमा क्रिकेट खेलको विकासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।
यो छलफललाई खेलकुद क्षेत्रमा वीरगञ्जको पहिचानलाई अझ मजबुत बनाउने महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।