महात्मा गान्धी जीवनका अन्तिम दिन साह्रै निराश हुन पुगेका थिए । दैनिक बिहान र साँझ प्राथना गर्थे । प्राथनापछिको व्याख्यानमा आफ्नो मृत्युको पुकारा गरिरहन्थे । कारण, देशमा स्वतन्त्रतापछिको बर्बरताको साक्षी बन्नु पर्दा उनी दुःखी थिए । हिन्दू र मुस्लिम समुदायबीच द्वन्द्व चलिरहेको थियो । भारत अशान्त थियो । राजनीतिमा आफैंले विश्वास गरेका व्यक्ति शासक थिए तर उनको विचारको सुनुवाइ भइरहेको थिएन ।
गान्धीको जीवनमा २४ वर्षसँगै व्यतीत गरेका स्व नारायणभाइ देसाईका अनुसार गान्धीको जीवनको अन्तिम आमरण अनशन १३ जनवरी १९४८ मा बिहान ११ः५५ बजे बिडला हाउस दिल्लीमा भएको थियो । त्यसो त जातीय दङ्गा र विभाजनले अक्रान्त तत्कालीन भारतमा समाधानका अथक सूत्र उनी साबित थिए । त्यसैले उनले जनवरी १२ मा नै आफ्नो अनशन घोषणा गरे, दिल्लीमा हिंसा नरोकिएका भन्दै शान्तिका लागि उनी अनशन बसेका थिए । उनले भनेका थिए– मेरा सबै अपिलहरू व्यर्थ साबित भएका छन् । मलाई डर छ कतै यो हिंसा विस्फोट हुने त हैन । त्यसैले भोलि बिहानदेखि मेरो अनिश्चितकालीन अनशन शुरु हुनेछ । म अहिंस्रक व्यक्ति हुँ र अहिंस्रक व्यक्ति असहाय हुन सक्दैन, उसले हार स्वीकार गर्न सक्दैन र त्यसैले म आफूलाई क्रूसमा अर्पण गर्दैछु । म अहिंसाको साधक भएकाले ममा कुनै कमी छ कि भनेर परीक्षण गर्नको लागि पनि मैले यो साधना गर्नुपर्छ ।
गान्धीजीको अनशनको दिन, बिडला हाउसमा भारतीय र विदेशी पत्रकारको यति ठूलो भीड थियो कि त्यस अनशनले एउटा नयाँ आयाम थियो, जुन उनको कलकत्ता अनशनमा त्यति व्यापक थिएन । पत्रकार छक्क परे किन गान्धीजीले अचानक एक दिन अगाडि नै यो उपवास किन घोषणा गरे ? केही मानिस भन्दै थिए कि गान्धीजीले मुस्लिमका लागि यो अनशन गरे, केही मानिस भन्दै थिए, कि गान्धीजीले पाकिस्तानले आफ्नो ५५ करोड रूपैयाँ दिलाउन । तर बिडला भवनको आँगनमा घाम तापेर सुतिरहेका ७८ वर्षीय गान्धीका लागि यी कुरा सामान्य थिए । गान्धीजीलाई देशवासीको पीडा राम्ररी जानकारी थियो र सायद त्यसैले उनले हिंसा विस्फोटको खतरा महसुस गरेका थिए । हिंसालाई नजिकबाट उनले नियालिरहेका थिए । उनले आफ्नो ज्यान बलिदान दिएर भए पनि यो देश र दिल्ली बचाउनु पर्छ भन्ने महशुस गरे ।