वीरगन्ज १६ कार्तिक : सहरी विकास तथा भवन कार्यालयअन्तर्गत रौतहटको गौरमा रहेको जनता आवास कार्यक्रम कार्यान्वयन इकाई कार्यालयमा तालाबन्दी गरिएको छ । दलित समुदायका लागि आएको एक अर्ब रुपैया फ्रिज भएपछि आक्रोशित रौतहटका दलित समुदायले सो कार्यालयमा तालाबन्दी गरेका हुन् । नेपाल राष्ट्रिय मुसहर संघ र मधेशी दलित विकास महासंघको नेतृत्वमा गएका व्यक्तिहरुले सो कार्यालयमा तालाबन्दी गरेका थिए । पर्साको वीरगञ्जमा रहेको सहरी विकास तथा भवन कार्यालयमा कार्यरत अधिकारीका कारण गरिब, असहाय तथा दलित समुदायका लागि आएको रकम फ्रिज भएको महासंघका अध्यक्ष धर्मेन्द्र पासवानले जानकारी दिए । सरकारले रकम पठाउने तर सरकारी अधिकारीले कुनै आधार र कारण बिनानै सम्बन्धित समुदायसमक्ष रकम निकासा रोक्ने गरेको आरोप लगाउँदै उनले यसको निकास नभएसम्म कार्यालयमा तालाबन्दी जारी रहने बताए । गत वर्षदेखि नै रौतहटमा जनता आवास कार्यक्रमको रकम निकासा अवरुद्ध हुँदैआएको छ ।