वीरगन्ज १६ कार्तिक : जानकी मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीले अस्पतालको प्राङ्गणमा आमरण अनसन शुरु गरेका छन् । धनुषाको रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा एक महिनादेखि आन्दोलनरत कर्मचारीहरुले आईतबार आमरण अनसन सुरु गरेका हुन् । बक्यौता तलब भुक्तानी तथा संचयकोष रकम जम्मा गर्न माग गर्दै एक महिनादेखि चरणवद्ध आन्दोलनमा उत्रिएका उनीहरुले माग पुरा नभएको भन्दै आमरण अनसन थालेका हुन् । आन्दोलित कर्मचारीले कलेज प्रशासनमा लगाएको तालासमेत फुटाइएपछि उनीहरुले यसअघि नै आमरण अनसनमा बस्ने चेतावनी दिएका थिए ।


जिल्ला प्रहरी कार्यालय धनुषामा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रको रोहवरमा गत भदौ ३० गते कलेज व्यवस्थापक र आन्दोलनरत पक्षका प्रतिनिधि उमेश यादवबीच सम्झौता भएको थियो । सम्झौताअनुसार असोज ४ गतेसम्म लेखापाल राखी बक्यौता रकमबारे खर्च हिसाब सार्वजनिक गर्ने र असोज ३० सम्म दसैँ खर्च, संचयकोष र तलब लगायतका सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने थियो । तर कलेज व्यवस्थापनले धर्नामा बसेका ४० जना कर्मचारीमध्ये ५ जनालाई निलम्बनको पत्र थमाएको छ भने केहीलाई स्पष्टिकरण समेत सोधेको छ । कर्मचारीहरुको ६ वर्षको दसैँ पेश्की, २ महिनाको तलब, ६ वर्षदेखिको संचयकोष लगायतका रकम भुक्तानी हुन बाँकी रहेको आन्दोलित कर्मचारीहरुको भनाइ छ । कलेजका प्रमुख प्रशासक दयानन्द झा भने कर्मचारीहरुले जबरजस्ती आन्दोलन गरेर कलेजलाई धरासायी बनाउदैँ लगेको आरोप लगाउँछन् ।