

वीरगंज,कार्तिक १७
नेकपा पर्सा क्षेत्र नं. ४ का अगुवा नेता कार्यकर्ताहरुले मुकेशको चौरसियाको हत्यारालाई निस्पक्ष अनुसन्धान मार्फत कडा कारवाही गर्न माँग गरेका छन । आईतबार सम्पन्न एक कार्यक्रममा नेताहरुले घटनाको वास्तविक दोषीलाई कारवाही गरेर राजनीतिक द्वेष साधनका लागि जबरजस्ती आरोपित बनाइएका निर्दोष व्यक्तिलाई कुनैपनि हालतमा फसाउन नहुने बताएका थिए ।
कात्तिक ६ गते विन्दवासिनी गाउँपालिकाको बहुअर्वाभाटामा भएको घटनालाई दुःखद बताउँदै मुकेशको चौरसियाको हत्यारालाई निस्पक्ष अनुसन्धान मार्फत कडा भन्दा कडा कारवाही गर्न माग गरेका हुन् । सहभागीहरूले विन्दवासिनी घटनामा ज्यान गुमाएका पार्टी पर्सा जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव समेत रहेका मुकेश चौरसिया प्रति श्रद्धाञ्जलि अर्पण गर्दै व्यक्तहरुले संवेदनशील घटनामा समेत केही पक्षले निहित स्वार्थ साँधेर खेल्न खोजेको भन्दै त्यसो नगर्न वक्ताहरूले खबरदारीसमेत गराएका थिए ।पर्सा निर्वाचन क्षेत्र नं ४ स्थित ६ वटै पालिका कमिटीका अध्यक्ष, सचिव, जिल्ला कमिटी सदस्य, स्थानीय तहमा नेकपाका निर्वाचित जनप्रतिनिधि र अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको कार्यक्रममा नेकपाका नेता एवम् संविधानसभा सदस्य जयप्रकाश थारूले दशजना दोषी उम्किएकोभन्दा एकजना निर्दोष व्यक्ति फस्नु न्यायको सर्वमान्य सिद्धान्तविपरीत हुने भन्दै यस्ता घटनाहरूमा पार्टीका नेता, कार्यकर्ताले विवेकपूर्ण र सत्यतथ्यमा आधारित निष्पक्ष भूमिका निर्वाह गर्नुमैं सङ्गठनको दीर्घकालीन हित हुने बताए ।नेकपा पर्साका अगुवा तथा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले घटनाको प्रत्यक्ष भिडियो सार्वजनिक भइसकेको र प्रत्यक्षदर्शीहरूसमेत साक्षी रहेको अवस्थामा दोषी पहिचान गर्न कठिन नरहेको जिकिर गरे ।
निर्दोषलाई फसाउन नहुने माग लिएर आफू पनि शव जुलुसमा सहभागी भएको स्पष्ट पार्दै अध्यक्ष मियाँले हाल प्रहरीले दर्ता गरेको नामावलीमा घटनामा संलग्न नरहेको व्यक्ति पनि परेको बताए ।कार्यक्रममा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता, जीराभवानी गाउँपालिका अध्यक्ष रामप्रीत महतो, जिल्ला कमिटीका सदस्य तथा कालिकामाई गाउँपालिका कमिटीका सचिव शम्भु पाल, कालिकामाई गाउँपालिका पार्टी सचिव अनुप तिवारी, जीराभवानी कमिटी अध्यक्ष शशिकपूर थारू, ठोरीका पार्टी अध्यक्ष खगेन्द्र श्रेष्ठ, जिल्ला कमिटी सदस्य लालबहादुर श्रेष्ठ, लगायतले मन्तव्य व्यक्त गरेका थिए।