पर्सा । नेकपा एमाले पर्साले आज वीरगन्ज बजारमा बृहत् मोटरसाइकल र्याली निकालेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धि र संविधानको रक्षाका लागि एमालेले मोटरसाइकल र्याली प्रदर्शन गरेको जनाएको छ ।
वीरगन्जको पावरहाउस चौकबाट सुरु भएको र्यालीले वीरगन्ज बजार परिक्रमा गरेको थियो । र्याली पावरहाउसबाट , मुडली चौक , घण्टाघर , रेलवे रोड , छपकैया , आदर्शनगर , घडीआर्वा माइस्थान हुँदै घण्टाघरमा आएर सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरूले ‘गणतन्त्र जिन्दावाद', 'प्रतिगमन मुर्दावाद', 'हत्या हिंसा लुटपाट अन्त्य गर', 'जन्मसिद्ध श्रेष्ठता स्वीकार्य छैन'लगायत नारा लगाउँदै बजार परिक्रमा गरेका थिए । जिल्लाका चौधवटै पालिकाबाट भेला भएका एक हजारभन्दा बढी मोटरसाइकलसहित र्यालीले बजार परिक्रमा गरेको एमाले नेता मोहमद निजामले जानकारी दिए ।