वीरगन्ज १७ कार्तिक : पर्साको घरेलु तथा साना उद्योग कार्यालयकी निमित्त प्रमुखमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयले सेवा बन्द गरेको छ । कार्यालयकी निमित्त प्रमुख, उद्योग अधिकृत रिमा साहले सूचना जारी गर्दै सोमबारदेखि अनिश्चितकालका लागि कार्यालयको सेवा बन्द गरिएको जानकारी दिएकी हुन् । कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीहरुको पीसीआर परीक्षण गराउने र रिपोर्टको आधारमा कार्यालय खोल्ने वा कसरी सेवा सञ्चालन गर्ने भन्ने निर्णय गरिने उनले बताइन् । कार्यालयमा निमित्त प्रमुख, उद्योग अधिकृतसहित ९ जना कर्मचारी कार्यरत छन् । परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका लेखापालको पीसीआर परीक्षण रिपोर्ट आइतबार साँझ पोजेटिभ आएको थियो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर घरेलुले असोज १६ गतेदेखि स्थानीय तह अनुसार वर्गीकरण गरेर उद्योग दर्ता तथा नवीकरणका सेवा प्रवाह गर्दै आएको थियो ।