वीरगंज । वीरगंज महानगरपालिका कार्यालयले वारुणयन्त्र र नगरप्रहरीलाई करारमा राख्दा अहिले गैरकानूनी विधि अपनाएको छ ।
महानगरपालिका कार्यालयले सातजना वारुणयन्त्रका लागि र २५ जना नगरप्रहरीका लागि करार सेवामा कर्मचारी माग गरेको थियो । दुवै पदका लागि ७६ जनाले आवेदन दिएका थिए । त्यसमा परीक्षाबाट वारुणयन्त्रका लागि सात र नगरप्रहरीका लागि २५ गरी ३२ जना उत्तीर्ण भए ।
उनीहरूलाई मात्र करार सेवामा बहाल गर्नुपर्नेमा महानगरपालिका कार्यालयले अनुत्तीर्ण भएका ४४ जनालाई पनि करार सेवामा खटाएको छ । महानगरपालिकाका सूचना अधिकृत सुनील कर्णले करार सेवामा वारुण यन्त्रका लागि सातजना र नगरप्रहरीका लागि २५ जनाको सूचना प्रकाशन भएको बताए ।
उनले तोकिएको सङ्ख्यामा उत्तीर्ण भएकाहरूबाहेक ४४ जनालाई अहिले परीक्षण अवधिमा तालीम दिने र सेवामा खटाइएको पनि स्वीकारे । ४४ जनालाई असार मसान्तसम्मका लागि करारमा खटाइएको उनले बताए ।
एकजना जनप्रतिनिधिले सूचना प्रकाशित गरेर सोविपरीत काम भएको बताए । उनले विगतमा पनि यस प्रकारको गलत कार्य गरिएको र पछि अख्तियारले कारबाई प्रक्रिया अघि बढाउने सुरसार गरेपछि सात सयजना दैनिक ज्यालादारी कर्मचारीलाई हटाइएको बताए ।
२०७९ सालको आमनिर्वाचनमा महानगरपालिकाले सात सय कर्मचारी भर्ना गरेको थियो । मन्त्रालयले दैनिक ज्यालादारी कर्मचारी भर्ना नगर्न निर्देशन दिएविपरीत सात सय कर्मचारी भर्ना गरिएको र त्यतिखेर ती कर्मचारीहरूलाई दिएको तलब अहिले पनि बेरुजू नै छ ।
अढाई वर्ष अघिको यो काण्ड सेलाउन नपाउँदै महानगरपालिकाले नियम कानून मिचेर वारुण यन्त्र र नगरप्रहरीमा ४४ जनालाई खटाएको छ । स्रोतका अनुसार महानगरमा अहिले पनि १२५ बढी करारका कर्मचारीहरू छन् ।