वीरगगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपाल–भारत सीमानाकामा थप निगरानी बढाएको छ । भारतले पाकिस्तानी र बङ्गलादेशी नागरिकलाई देश छोड्न आदेश दिएपछि नेपालको मुख्य प्रवेशद्वारमा सुरक्षा सतर्कता बढाइएको हो ।
छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्ने शङ्कास्पद व्यक्तिको जाँचमा कडाइ गरिएको जिल्ल प्रहरीले कार्यालय पर्साले जनाएको छ ।भारतबाट नेपाल प्रवेश गर्नेलाई सरकारी परिचय पत्र देखाउन अनिवार्य गरिएको पर्सा प्रहरी प्रमुख (एसपी) गौतम मिश्रले बताए ।उनका अनुसार वीरगन्ज नाका भएर भारत जान वा भारतबाट नेपाल प्रवेश गर्न नागरिकता, परिचयपत्र अनिवार्य देखाउनुपर्ने नियम लागु गरिएको छ ।
एसपी मिश्रले महानगरका सबै प्रहरी इकाइ तथा मातहतका प्रहरी चौकीहरूलाई सिमानाकाबाट प्रवेश गर्ने व्यक्तिमाथि निगरानी गर्न निर्देशन समेत दिएका छन् । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर कुनै चुक नगरी नाकामा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको प्रहरी प्रमुख मिश्रले बताए ।
सीमानाकामा कडाइ गर्नका लागि प्रहरीले आफ्नो ‘स्पेसल डग’ को समेत परिचालन गरेको छ । अहिले मुख्य नाकामा प्रहरीको ‘स्पेसल डग’ खटाएको प्रहरी प्रमुख मिश्रको भनाइ छ ।
‘सीमानाका भएर लागु औषधको ओसारपसार पनि भइरहेको छ । सबै हिसाबले सतर्कता बढाएका छौँ, एसपी मिश्रले भने, ‘अहिले पाकिस्तानी र बङ्गलादेशी नागरिक वीरगन्ज नाका भएर नेपाल प्रवेश गर्न सक्ने अवस्था छ, त्यही आङ्कलन गरेर सुरक्षा समितिको सल्लाहबमोजिम थप निगरानी बढाएका हौँ।’
वीरगञ्जसहित ग्रामीण भेगका नाकाहरूमा व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
भारतको काश्मिर राज्यस्थित पहलगाममा एक नेपालीसहित २७ जनाको आतंकवादीहरुले हत्या गरेपछि उत्पन्न घटनाक्रमलाई मध्यनजर गरी पर्सा प्रहरीले थप सतर्कता बढाएको हो ।
भारत र पाकिस्तानबिच उत्पन्न विवादले एक अर्का देशका नागरिकलाई देश निकाला गरिरहेको अवस्थामा भारत भएर नेपाल भित्रिने पाकिस्तानी र बङ्गलादेशी नागरिकको अवैध प्रवेश रोक्न निगरानी तीव्र पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।