वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो तीन महिनाको अवधिमा उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरी प्रमुख एसपी गौतम मिश्रको नेतृत्वमा पर्सा प्रहरीले अपराध नियन्त्रण, कानुन कार्यान्वयन र राजस्व संकलनमा प्रभावकारी भूमिका निर्वाह गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, यस अवधिमा ७८५ जना अपराधीलाई विभिन्न अभियोगमा पक्राउ गरिएको छ। लागुऔषध कारोबार, तस्करी, मानव बेचबिखन, कालोबजारी लगायतका आपराधिक गतिविधिमाथि प्रहरीले कडा निगरानी राख्दै कारवाही गरेको छ।
तीन महिनामा मात्रै २३ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन्, जसमा संलग्न ३१ जना व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै अवैध कारोबारमा संलग्न समूहहरूलाई नियन्त्रणमा लिएको हो।
नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै भइरहेको तस्करी र चोरीका सामानहरू नियन्त्रणमा लिँदै प्रहरीले २४ वटा सवारीसाधनसमेत जफत गरेको छ। ती सवारीसाधनमा ओसारपसार गरिएका सामग्रीबाट करिब १३ करोड रुपैयाँ बराबरको राजस्व संकलनमा प्रत्यक्ष–अप्रत्यक्ष योगदान पुगेको पर्सा प्रहरीले जनाएको छ।
एसपी मिश्रको नेतृत्वमा प्रहरीले ५१२ वटा मुद्दाको फैसला कार्यान्वयन गर्दै १ करोड १२ लाख रुपैयाँ बराबरको जरिवाना असुल गरेको छ। अदालतको आदेश कार्यान्वयनमा देखिएको सक्रियता प्रहरीले कानुनी राज्यको प्रत्याभूति गराउने दिशामा काम गरिरहेको संकेत हो।