पर्सा । नेकपा एमाले पकाहा मैनपुर गाउँपालिकाका नेता एवं कार्यकर्ताले तत्काल पालिका कमिटी अधिवेशनको मिति घोषणा गर्न माग गर्दै बिहीबार नेकपा एमाले मधेस प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठ र अध्यक्ष चण्डेश्वर मण्डललाई ज्ञापन पत्र बुझाएका छन ।
केन्द्रीय कमिटीको सर्कुलर अनुसार मिति २०८१ चैत्र २३ गतेका दिन पकाहाँमैनपुर गाउँपालिकाको वडा नं १ धोरेमा सुरु भएको पालिका अधिवेशनमा अवरोध उत्पन्न भई स्थगित भएको अधिवेशन सुरु गराउन ज्ञापन पत्र बुझाइएको नेता हामिद मियाँले बताए ।
सुरु भएको पालिका कमिटीको अधिवेशनमा खुल्ला सत्र समापन भई बन्द सत्रको पनि प्रक्रिया सुरु भई अध्यक्ष मण्डल घोषणा भएर निर्वाचन कमिटी गठन गरी मनोनयन पत्र वितरण भई सकेको बेला विवाद उत्पन्न भई अधिवेशन स्थगित गरिएको थियो ।
त्यस पछि नेकपा एमाले पर्सा जिल्ला कमिटी अध्यक्ष एवं अध्यक्ष मण्डलका अध्यक्ष विश्वम्भर शर्मालाई पटक पटक अधिवेशन गराउन ताकेता गर्दा पनि उहाँले भोली पर्शी भन्दै आलटाल गरी गैरपूर्ण जवाब फर्काउँदै आएकोले मधेस प्रदेश कमिटीलाई ज्ञापन पत्र बुझाइएको नेता मियाँले बताए ।
ज्ञापन पत्र बुझ्दै मधेस प्रदेश इन्चार्ज श्रेष्ठले रोकिएको पालिका अधिवेशन तत्काल सुरु गराउन आफू पहल गरिने बताए साथै आउँदो आईतबार हुने मधेस प्रदेश कमिटीको बैठकबाट अधिवेशनको लागि प्रतिनिधी व्यवस्थापन गरी पठाउने उहाँले बताउनु भयो ।