पर्सा । भारतको ओडिसास्थित पुन नेपाली विद्यार्थी मृतफेला परेको घटनाको अनुसन्धानको माग गर्दै नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन वीरगन्जले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा रहेकी विद्यार्थी प्रीशा साहको रहस्यमय मृत्युको घटनाको छानबिनका लागि कूटनीतिक पहल गर्न माग गर्दै अनेरास्ववियुका आशिफ अहमदको नेतृत्वमा गएको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरूले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने, नेपाली विद्यार्थीको सुरक्षा हुनुपर्ने माग समेत राखेका छन् । ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागीले प्रीसा साहलाई न्याय दे, नेपाली विद्यार्थीमाथि भएको दमन बन्द गर, भारतमा अध्ययनरत विद्यार्थीको रक्षा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
अनेरास्ववियु वीरगन्ज कमिटी अध्यक्ष आशिफ अहमदले हजारौँ विद्यार्थी पढ्नका लागि बाहिर जानुपर्ने अवस्था र त्यसमाथि पनि नेपाली विद्यार्थी असुरक्षित हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
उनले भारतमा भएको घटनाको छानबिन गर्न र नेपाली विद्यार्थीको सुरक्षाका लागि राज्य र सरोकारवाला निकाय गम्भीर हुनुपर्ने उल्लेख गरे ।
बिहीबार राति ७ बजे विरगंजकी साह छात्रावासमा मृत फेला परेकी थिइन् ।
यो भन्दा पहिला पनि भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा आइतबार राति रुपन्देहीकी २१ वर्षीया प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन् ।