वीरगञ्ज । हिन्दू स्वाभिमान र राष्ट्रप्रेमको पक्षमा आवाज उठाउँदै आएका हिन्दुवादी अभियन्ता रवि सर्राफ र बिक्रम (बल्जित) जिल्ला अदालत पर्साबाट थुनछेक बहसपछि रिहा भएपछि वीरगञ्जमा भव्य स्वागत गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साबाट रिहा भएलगत्तै हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरू तथा स्थानीय समर्थकहरूको ठूलो भिडले जयश्रीरामका नारासहित योद्धाहरूलाई फूलमालाले सम्मानित गर्दै स्वागत गरे। रिहा समारोहमा राष्ट्रिय समता पार्टी नेपाल वीरगञ्ज महानगर कार्यसमिति संयोजक अमर सर्राफको अगुवाइमा कार्यक्रम आयोजना गरिएको थियो।
संयोजक अमर सर्राफले स्वागत समारोहमा सम्बोधन गर्दै भने, “हिन्दू स्वाभिमानको रक्षा गर्ने योद्धाहरूको सम्मान गर्नु हाम्रो कर्तव्य हो। रवि सर्राफ र उनका साथीसँग अन्याय भएको थियो, तर न्यायले जितेको छ।”
स्वागत कार्यक्रममा हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरूले रिहा भएका अभियन्ताहरूको साहस, समर्पण र राष्ट्रहितमा लिइएको भूमिकाको खुलेर प्रशंसा गरेका थिए। उनीहरूले रिहालाई धार्मिक आस्थाको विजयको रूपमा व्याख्या गरेका छन्।
स्थानीय बासिन्दाहरूले समेत रिहा भएका युवाहरूप्रति समर्थन व्यक्त गर्दै राष्ट्रिय एकता र धार्मिक–सांस्कृतिक चेतनाका लागि संघर्ष जारी राख्न आग्रह गरेका छन्।
यो घटनाले धार्मिक, सांस्कृतिक र राजनीतिक दृष्टिकोणले हिन्दू राष्ट्रवाद तथा नागरिक अधिकारप्रतिको जन–चासोलाई थप उजागर गरेको बताइएको छ।