रौतहट । रौतहटका वरिष्ठ पत्रकार एवं प्रेस चौतारी नेपाल मधेस प्रदेश संस्थापक फणिदेव महतको ब्रेन ट्युमरका कारण निधन भएको छ । लामो समयदेखि गम्भीर रोगबाट पीडित महतको उपचारका क्रममा निधन भएको हो ।
महतले दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । उनी अन्नपूर्ण पोस्टका रौतहट संवाददाता थिए भने चन्द्रनिगापुरबाट सञ्चालित रेडियो सुप्रिम र अनलाइन पत्रिका 'कलमपाटी डटकम' का सञ्चालकस मेत थिए । साथै, प्रेस चौतारी नेपालको मधेश प्रदेश अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।
उपचारका क्रममा महतको परिवारले ठूलो धनराशि खर्च गरिसकेका थिए । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका महतको सहयोगका लागि विभिन्न संघसंस्थाहरूले अपिल गरेका थिए । नेपाल पत्रकार महासंघले पनि आर्थिक सहयोग जुटाउन आफ्ना शाखाहरूलाई अनुरोध गरेको थियो ।
महतको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक निडर र सक्षम पत्रकार गुमाएको छ । उनको योगदान सदैव स्मरणीय रहनेछ ।