वीरगन्ज । खाना पकाउने क्रममा झुक्किएर तेलको सट्टा डिजेल प्रयोग गरिएपछि एक नाबालिकासहित दुई जना घाइते भएका छन्। घरेलु स्तरमा हुने सावधानीको कमी र प्राविधिक जानकारीको अभावले यस्तो दुर्घटना भएको भन्दै स्थानीयहरू सचेत हुन आग्रह गरिएको छ।
घटना हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित नमुना टोलमा बुधबार साँझ भएको हो। १३ वर्षीया असिया खातुनले मासु पकाउने क्रममा भान्सामा तेल ठानेर डिजेल प्रयोग गरेपछि आगलागी भएको हो । घटनामा भारत बिहार मोतिहारी आदापुरग्राम कलबारी मझौलिया बस्ने २५ वर्षकी अफ्रिदा खातुनसमेत घाइते भएकी छन्।
दुर्घटनामा असियाको अनुहार, हात, पिठिउँ र खुट्टा जलेको छ भने अफ्रिदाको बायाँ कान, हात र गालामा चोट लागेको मकवानपुर प्रहरीले जनाएको छ। घाइते दुवैको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी निरीक्षक विमला कुमारी कठायत नेतृत्वको टोलीले आगो नियन्त्रणमा लिएको थियो। घटनामा काठको ढोका, चामल, धान र लुगा गरी करिब २० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
सामान्य ज्ञानको अभाव र जोखिम
विशेषज्ञहरू भन्छन्, “डिजेल अत्यन्तै ज्वलनशील पदार्थ हो। यसलाई भान्सामा प्रयोग गर्नु खतरनाक हुन्छ। तेल र डिजेलको छुट्ट्याउने ज्ञान नहुनु स्वयं ठूलो जोखिम हो।”
दुर्घटनाले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा यस्ता आधारभूत कुरामा जनचेतनाको खाँचो स्पष्ट देखाएको छ। स्थानीय तह तथा सरोकारवालाले घरेलु सुरक्षा र चेतनामूलक कार्यक्रम चलाउनुपर्ने आवश्यकता देखिएको छ।