प्रेमचन्द्र झा
रौतहट। रौतहटको चन्द्रनिगाहपुरस्थित एएन प्लाजा होटलमा डिभिजन वन कार्यालयको आयोजनामा "वन संरक्षण प्रणालीमा आधारित दिगो वन व्यवस्थापन" सम्बन्धी तालिम सुरु भएको छ। दुई दिनसम्म चल्ने यो तालिम सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो।
तालिम उद्घाटनको अवसरमा बोल्दै डिभिजन वन प्रमुख हेमन्त प्रसाद साहले वन संरक्षण र सुशासनका विषयमा आफ्नो स्पष्ट धारणा व्यक्त गरे। उनले सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरूलाई समुदायमै बसोबास गर्ने उपभोक्ताको सहभागितामा योजना निर्माण गर्न सुझाव दिए। प्रमुख साहले भने, “काठमाडौँ वा जनकपुरमा बसेर तयार गरिने कार्ययोजनाले वनको दिगो विकास सम्भव छैन। योजना बनाउँदा समुदायकै आवश्यकता र वास्तविकता अनुरूप बन्नुपर्छ।”
वन प्रमुख साहले सामुदायिक वनमा रूख कटानी गर्दा सुकिसकेका, बुढा, ढलेका वा मर्न लागेको रूख मात्र काट्न निर्देशन दिए। साथै, वन सफाइको नाममा अनावश्यक रूख फडानी गरी जमिन खाली गर्ने कार्यमा संलग्न भए कडा कानुनी कारबाही हुने चेतावनीसमेत दिए।
उनले वन क्षेत्रमा पोखरी, पैनी, मन्दिर, सामुदायिक भवनजस्ता संरचना निर्माण भइरहेको जानकारी आफूलाई प्राप्त भएको उल्लेख गर्दै भने, “वन क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना हटाउने प्रक्रिया अगाडि बढिसकेको छ। सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको छ, अब त्यस्ता योजनामा कसरी भुक्तानी हुन्छ? यस्तो लगानी डुब्ने पक्का छ।”
तालिमको क्रममा उनले सहभागीहरूलाई लाभान्वित घरधुरीको यथार्थ डेटा संकलन गर्न, महिला–पुरुष सहभागीको विवरण राख्न र तथ्यमा आधारित अभिलेख राख्न आग्रह गरे। “सुशासनका लागि कसैसँग सम्झौता हुँदैन,” भन्दै उनले वन क्षेत्रमै पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिए।
डिभिजन वन कार्यालयका विभिन्न विज्ञहरूले तालिममा सहभागीहरुलाई दिगो वन व्यवस्थापन, वन ऐन तथा नियमावली, र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण दिइरहेका छन्। तालिममा रौतहट जिल्लाभरिका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, सचिवलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको छ।
तालिमको उद्देश्य सामुदायिक वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै पर्यावरणीय सन्तुलन कायम राख्ने र उपभोक्ताको क्षमता अभिवृद्धि गर्नु हो। सहभागीहरूले यस्तो तालिमले आफुहरूलाई जिम्मेवार र सचेत बनाउने विश्वास व्यक्त गरेका छन्।