वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन सा तेलीले छोराको विवाहमा सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ।
यही जेठ ९ गते आफ्नै छोराको विवाह हुन लागेकाले उनले पालिकाको नाममा दर्ता गरिएको ना १ झ–१६६१ नम्बरको सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेका दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा भइरल भएको छ ।
उक्त भिडियोमा नगर प्रमुख तेलीलाई रक्सौल पुगेर विवाहमा प्रयोग हुने सामानहरूको किनमेल गरिरहेको देखिन्छ। त्यो क्रममा प्रयोग गरिएको सवारी साधन भने नगरपालिका कार्यालयको हो, जसको प्रयोग पालिका सञ्चालन र सार्वजनिक सेवाका लागि मात्र गर्न सकिने प्रावधान छ।
नियम विपरीत प्रयोग
नेपालको सार्वजनिक सेवा संहितामा सरकारी साधनको निजी प्रयोजनमा प्रयोग गर्नु अख्तियारको दुरुपयोग मानिन्छ । त्यसमाथि, भिडियोमा देखिएको गतिविधिमा गाडीको इन्धन खर्च समेत नगरपालिकाको बजेटबाट गरिएको पालिकाका कर्मचारीहरु बताउछन् ।
स्रोतहरूका अनुसार गाडीमा तेल भर्न हालै नगरपालिकाले बिल पास गरेको विवरण पनि नगरपालिका भित्र चर्चाको बिषय बनेको छ । मेयरले आफ्नो छोराको विहेको लागि भारत गएर सामान खरिद गर्ने र उक्त सामानको भंसार नतिरी नेपाल भित्राएको दृश्यले कानूनी राज्यको खिल्ली उडाएको छ ।
नियामक निकाय मौन ?
यो प्रकरणले पर्सा जिल्लामा सरकारी गाडीको दुरुपयोगबारे समय समयमा उठ्ने प्रश्नलाई पुनः चर्काएको छ। तर, यस्तो स्पष्ट प्रमाणसहितको घटनामा पनि जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा स्थानीय सरकार, मन्त्रालय किन मौन छन् भन्ने गम्भीर प्रश्न उठेको छ।
यसअघि पनि विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले सरकारी गाडीको दुरुपयोग गरेका तथ्यहरू सार्वजनिक भए पनि कानुनी कारबाहीको प्रक्रिया सुरु नहुनु ले प्रणालीगत कमजोरी वा राजनीतिक संरक्षण को आशंका पैदा गराएको छ।
स्थानीय करदाता तथा नागरिकका प्रतिनिधिको हैसियतमा रहेको नगर प्रमुखबाट यस्ता गतिविधि हुनु नैतिक र कानुनी दुवै दृष्टिकोणबाट अस्वीकार्य हो भन्ने आवाज चुलिँदै गएको छ। घटनापछि बहुदरमाई नगरपालिकाका केही जनप्रतिनिधिहरूले पनि आन्तरिक रूपमा असन्तुष्टि व्यक्त गरिरहेका छन्।
स्थानीय नागरिक र सामाजिक अभियन्ताहरूले सम्बन्धित निकायसँग तुरुन्त छानबिनको माग गर्दै दोषी ठहरिएमा कारबाहीको स्पष्ट प्रक्रिया अघि बढाउनुपर्ने धारणा सार्वजनिक गर्दै गएका छन्।
निजी प्रयोजनका लागि सार्वजनिक स्रोतको प्रयोग कुनैपनि हालतमा स्वीकार्य हुँदैन। यस्तो क्रियाकलापले स्थानीय तहमा सार्वजनिक विश्वास र पारदर्शितामा गम्भीर आघात पु¥याउँछ। बहुदरमाईका मेयरमाथि उठेको आरोप केवल व्यक्तिगत कमजोरीको सवाल मात्र होइन, यो स्थानीय शासन प्रणालीमै जवाफदेहिता र निगरानी कमजोर भएको संकेत पनि हो।