सर्लाही । सर्लाहीको उत्तरपूर्वी चुरे भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, घारीबथानस्थित बाँकेखोलामा खानेपानी खसालिएको छ ।
सर्लाही र महोत्तरीको सीमास्थित बाँकेखोलाको राजारानी मन्दिरनजिकै दुई वटा इनार निर्माण गरेर त्यहाँको पानी करिब सात सय मिटर दक्षिण बाँकेखोलाको ड्यामसम्म ल्याइएको हो । राजारानी मन्दिरनजिकको इनारबाट तीन इन्च अर्थात् ९० एमएमको दुई वटा पाइपमा पानी ल्याएर बाँकेखोलाको ड्यामनजिकै खसालिएको स्थानीय नारायण ठोकरले जानकारी दिनुभयो ।
दुई वटा पाइपबाट ल्याइएको पानी अब बाँकेखोलाको ड्याममा ३० हजार लिटर क्षमताको कलेक्सन चेम्बर निर्माण गरेर विद्युत् मोटरमार्फत चुरेपाखामा पर्ने चौकीडाँडामा अढाई लाख क्षमताको रिजर्भ ट्याङ्कीमा खसाल्ने योजना रहेको उपभोक्ता समितिले जनाएको छ । राजारानी मन्दिरदेखि बाँकेखोलाको ड्यामसम्म सफलतापूर्वक पानी आएपछि अहिले बाँकेखोलाको ड्याममा ‘कलेक्सन चेम्बर’ बनाउने काम धमाधम भइरहेको खानेपानी उपभोक्ता समितिका सचिव ईश्वरी चापागाईंले जानकारी दिनुभयो ।
चापागाईंका अनुसार आगामी असार मसान्तभित्रै कलेक्सन चेम्बर र रिजर्भ ट्याङ्की निर्माण गर्ने योजना रहेको छ । घारीबथानमा बाँकेखोलादेखि पानी लिएर चौकीडाँडाको रिजर्भ ट्याङ्कीसम्म पानी खसाल्न मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा ७० लाख रुपियाँ बजेट प्रदान गरेको उपभोक्ता समितिका अध्यक्ष प्रमोद बरालले बताउनुभयो ।
आगामी आवमा थप बजेटको व्यवस्था गरी घारीबथानका स्थानीयको घर घरमै खानेपानी पु¥याउने योजना रहेको उहाँले बताउनुभयो । सधैँ खानेपानीको अभाव भइरहने घारीबथानका स्थानीय बाँकेखोलामा निर्माण भइरहेको खानेपानी आयोजनाको काम पूरा भएपछि घर घरमै खानेपानीको धारा आउने आशमा बसेका छन् ।
खानेपानी डिभिजन कार्यालय सर्लाहीका प्रमुख एवं इन्जिनियर रामनाथ साहले यो वर्षको बजेटले चौकीडाँडाको रिजर्भ ट्याङ्कीसम्म पानी पु¥याउन सकिने र आगामी वर्ष थप बजेट विनियोजन भए एक हजार घरधुरीमा घर घरमै खानेपानी वितरण गर्न सक्ने अवस्था रहेको इन्जिनियर साहले बताउनुभएको छ ।