वीरगञ्ज । मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले नारायणी रङ्गशालालगायत मधेस प्रदेशका विभिन्न स्थानमा खेलकुद पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षको बजेटमा विनियोजन सुनिश्चित भएको दाबी गरेका छन् ।
मन्त्री जयसवालले आफ्नो सामाजिक सञ्जालमार्फत सङ्घीय सरकारसँग पटक–पटक लिखित र मौखिक पहल गरेको र त्यसको परिणामस्वरूप बजेट विनियोजन भएको जानकारी दिएका छन् । यद्यपि, उनले बजेट वक्तव्यमा रङ्गशालाको विषय समावेश हुन छुटेको बताएका छन् । साथै, मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयबाट पनि थप बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री जयसवालले नारायणी रङ्गशालालगायत मधेसका अन्य स्थानमा खेलकुद पूर्वाधारको विकास र स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग निरन्तर समन्वय र पहल गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “मैले सङ्घीय सरकारसँग लिखित र मौखिक रूपमा पटक–पटक कुराकानी गरेको छु ।
नारायणी रङ्गशालालगायत मधेसका विभिन्न स्थानमा खेलकुद पूर्वाधार विकासका लागि बजेट सुनिश्चित भएको छ ।” उनले उक्त कुरा बजेट वक्तव्यमा समावेश नभए पनि सङ्घीय सरकारबाट बजेट प्राप्त भएकोमा आफू विश्वस्त रहेको बताएका छन् ।