वीरगंज । मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घको शाखालाई आगामी आव २०८२/८३ मा कार्यालय सञ्चालनका लागि पाँच/पाँच लाख रकम अनुदान दिने मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले बताएका छन् । उनले उक्त अनुदान सहयोग बजेटमार्फत विनियोजन गरी सहयोग गर्ने बताए । मन्त्री लेखीले आफू पनि पत्रकारिता क्षेत्रबाट नै आएकोले सञ्चार क्षेत्रका समस्याहरूबारे जानकार रहेको बताए ।
सञ्चारमन्त्री लेखीले भने, “रकम अभावकै कारण महासङ्घका अधिकांश शाखा कार्यालयलाई नियमित कार्य सञ्चालन गर्न कठिनाइ भइरहेकोले प्रदेश सरकारबाट थोरै भएपनि बजेट राख्न पहल गरेको हुँ ।” उनले सो रकमबाट महासङ्घका कार्यालयहरूले आवश्यकता अनुसार मसलन्द, घर भाडा, कर्मचारीको तलबभत्ता, विद्युत् र पानीको महसुल जस्ता शीर्षकमा खर्च गर्न सक्ने बताए ।