पर्सा । भारतबाट भन्सार राजस्व छलेर ल्याइएको १३ लाखभन्दा बढीको अवैध सामान पर्सा प्रहरीले बरामद गरेको छ । वीरगन्ज महानगरपालिका २१ परावानीपुर चौकस्थित सडकखण्डबाट १३ लाख लाख ६० हजार रुपियाँ मूल्य पर्ने अवैध टायरहरुसहित ट्रयाक्टर नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
प्रहरी उपरीक्षक मिश्रले जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकी परवानीपुरबाट नियमित चेकिङ टोलीले चेकजाँचको क्रममा ना. ६ त ४१२९ नम्बरको ट्रयाक्टरमा भारतबाट अवैध रूपमा लगाउँदै गरेका बस र ट्रकका १८ पिस टायर सहित ट्रयाक्टर नियन्त्रणमा लिएको बताउनुभयो ।
बरामद गरिएको टायर कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय पर्साले दैनिकजसो पर्साको विभिन्न स्थानबाट अवैध सामान बरामद गर्दै आएको छ । पछिल्लो समयमा आएर अवैध सामान आयात गर्ने क्रम बढेपछि प्रहरीले पनि सक्रियता बढाउँदै कडाइ सुरु गरेपछि दैनिकजसो विभिन्न ठाउँबाट अवैध सामान बरामद हुँदै आएको छ ।