जनकपुरधाम, मधेश — मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि खेलकुद तथा समाज कल्याण मन्त्रालयमार्फत १५ ओटा महत्वाकांक्षी र समावेशी कार्यक्रमहरू सार्वजनिक गरेको छ। यी कार्यक्रमहरू प्रदेशको युवा, महिला, अपाङ्गता भएका व्यक्ति, दलित, मुस्लिम, LGBTQ+, जेष्ठ नागरिक लगायत समावेशी समुदायलाई लक्षित गरी ल्याइएका हुन्।
खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले भन्नुभयो,
> "हामी मधेशको समाजलाई न्याय, समावेशिता र सम्मानको आधारमा अघि बढाउने दिशामा ठोस कार्ययोजना सहित अघि बढिरहेका छौं। खेलकुदमा आत्मनिर्भरता, समाजमा समानता र सम्मान, र युवामा स्वरोजगारको अवसर विस्तार हाम्रो प्राथमिकता हो। यी कार्यक्रमहरू हाम्रो प्रतिबद्धताको जीवन्त प्रमाण हुन्।"
मन्त्री जयसवालले सार्वजनिक गर्नुभएको मुख्य कार्यक्रमहरू यस प्रकार छन्:
खेलकुद पूर्वाधार र उत्सव
१. ५०० संरचना सम्पन्न विगतका अधुरा तथा अपुरा संरचनाहरूको निर्माण कार्य सम्पन्न गरी संस्थागत विकासमा गति दिने।
२. रंगशाला र खेलग्राम निर्माण श्रीराम जानकी बहुदेशीय रंगशाला, नारायणी रंगशाला, गोलबजार रंगशालालगायत खेलमैदान, खेलग्राम तथा कभर्ड हलहरूको निर्माण।
३. ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना मधेश प्रदेशमा पहिलो पटक भव्य राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्यसहित पूर्वाधार निर्माण आरम्भ।
४. ‘खेली मधेश, जीती मधेश’ अभियान प्रतियोगिता, प्रशिक्षण, पुरस्कार तथा सम्मानमार्फत युवामा प्रेरणा जगाउँदै मधेश खेलकुद दिवस र महोत्सव मनाइने।
सामाजिक सुरक्षा तथा सशक्तिकरण
५. आधुनिक वृद्धाश्रम निर्माण जेष्ठ नागरिकको हेरचाह र सम्मानका लागि सुविधासम्पन्न वृद्धाश्रम।
६. ‘बेटी जिन्दावाद’ अभियान छोरीप्रतिको सोच परिवर्तन र सशक्तिकरणमा केन्द्रित सामाजिक चेतना कार्यक्रम।
७. महिला स्वरोजगार कार्यक्रम प्रथम महिला राष्ट्रपति स्वरोजगार कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउने योजना।
८. महिला तथा बाल पुनःस्थापना केन्द्र संकटमा परेका महिला र वालवालिकाका लागि जिल्लास्तरीय महिला सेफ हाउस तथा प्रादेशिक पुनःस्थापना केन्द्रको निर्माण।
९. मुख्यमन्त्री सुरक्षित आवास र नागरिक बीमा कार्यक्रम विपन्न नागरिकका लागि सुरक्षित आवास र स्वास्थ्य सुरक्षाको प्रत्याभूति।
समावेशी समृद्धि अभियान
१०. युवा स्वरोजगार तथा सशक्तिकरण कार्यक्रम स्वरोजगार र सीप विकासमार्फत युवालाई उद्यमशील बनाउने।
११. दलित उद्यम विकास कार्यक्रम दलित समुदायलाई आर्थिकरूपमा सबल बनाउन विशेष कार्यक्रम।
१२. विपन्न तथा दलित नमुना बस्ती विकास आवास, खानेपानी र सरसफाइयुक्त व्यवस्थित बस्ती निर्माण।
१३. समावेशी सशक्तिकरण विशेष कार्यक्रम बालबालिका, महिला, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, LGBTQ+ समुदायलगायतलाई लक्षित विशेष कार्यक्रम सञ्चालन।
१४. सीप विकास तथा उत्पादनमूलक कार्यक्रम विपन्न वर्गलाई लक्षित गरेर उत्पादनमूलक सीप तालिमहरू प्रदान गरिने।
१५. अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा अपाङ्गता रोकथाम र पुनःस्थापना सेवा विस्तार।
मन्त्री जयसवालले थप स्पष्ट गर्नुभयो,
> "हामी अब योजनाबाट परिणामतर्फ अघि बढ्दैछौं। समावेशी र न्यायपूर्ण समाज निर्माण हाम्रो लक्ष्य हो, र त्यसका लागि खेलकुद र सामाजिक सुरक्षालाई हामीले नीति तथा व्यवहार दुवैमा प्राथमिकता दिएका छौं।"
यी कार्यक्रमहरू मधेश प्रदेशको सामाजिक विकास, युवा प्रेरणा र समावेशी समृद्धिको दिशामा ऐतिहासिक पाइला सावित हुने अपेक्षा गरिएको छ।