पर्सा । मधेश प्रदेशको सबैभन्दा संवेदनशील नाका मानिने पर्सा जिल्लाको भिस्वा नाकाबाट नेपाली तथा चिनियाँ उत्पादनका सामानहरूको संगठित रूपमा तस्करी भइरहेको पाइएको छ। भिस्वा नाका हुँदै चीनबाट स्याउ, स्टील, इलेक्ट्रिक चुरोट र कबाड सामान नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ भने भारतबाट धान, गहुँ, चामल, कपडा, स्पेयर पार्ट्सलगायत सामग्रीहरू नेपाल भित्र्याइँदै आएको स्थानीयवासीले बताएका छन्।
स्थानीय स्रोतका अनुसार, तस्करी गतिविधि प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्मको सेटिङमा सञ्चालन भइरहेको छ भन्ने गुनासो व्यापक छ। यस प्रकारको तस्करीमा सरोकारवाला निकायहरूकै संलग्नता रहेको आशंका गर्दै स्थानीयवासीले दोषीहरूलाई कारवाही गर्न सरकार र सुरक्षा निकायसँग माग गरेका छन्।
भिस्वा प्रहरी चौकीको हालका इन्चार्ज सई संजीव तामाङलाई केन्द्रबाटै तस्करीको मुख्य केन्द्रमा पठाइनुले उक्त सेटिङ अझ माथिसम्म मिलेको संकेत गरेको स्थानीयहरूको भनाइ छ। सई तामाङ करिब दुई महिना अघि मात्र भिस्वा प्रहरी चौकीको जिम्मेवारी सम्हाल्दै आएका हुन्।
स्थानीयबासीहरूको भनाइमा विश्वास गर्ने हो भने, तामाङको चौकी सम्हालेपछि तस्करी झनै बढेको देखिएको छ। उनीमाथि तस्करी नियमन गर्नुभन्दा संरक्षण गर्ने भूमिका निभाएको आरोप समेत लागेको छ।
यस विषयमा सुरक्षा निकाय तथा सरोकारवाला सरकारी निकायहरूले छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नु आवश्यक देखिन्छ। अन्यथा तस्करीजस्ता गतिविधिले राज्यको राजस्व क्षति मात्र होइन, सीमा सुरक्षामै चुनौती खडा गर्ने निश्चित छ।