काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकासे वर्षाको निर्भरता अन्त्य गरी तराईमा सिँचाइको स्थायी समाधान ल्याउने दिन अब टाढा नभएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् खडेरीले तराईमा रोपाइँमा देखिएको कठिनाइ, किसानको पीडा र सरकारको तत्काल तथा दीर्घकालीन समाधानका लागि गरिएका कदमबारे जानकारी दिएका छन् ।
उनका अनुसार तत्कालका लागि ५०० वटा डीपबोरिङ जडानको काम शुरू गरिएको छ भने दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइँदैछ ।
यसवर्षको खडेरीले अन्नको भण्डार मानिने तराईको खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आउनु दु:खद् भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
‘यसवर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईको खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो, जहाँ रोपाइँ भयो, त्यहाँ पनि पानीको अभावले रोपो मर्न थालेको थियो’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेका बेला म केही समयअघि तराई गएको थिएँ र सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो । तत्कालका लागि ५०० वटा डीपबोरिङ जडानको काम शुरू गरिएको थियो र दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइरहेको छ ।’
उनले पछिल्ला दिनमा परेको वर्षाले तराईमा फेरि हरियाली फर्काउन थालेको उल्लेख गर्दै साउन २३ गतेसम्म मधेश प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउने आशा व्यक्त गरेका छन् ।
‘पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ, वर्षाले फेरि हरियाली फर्काउन थालेको छ, यही साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।
आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको उनले उल्लेख गरेका छन् । ‘अब त्यो दिन धेरै टाढा छैन, किसानको मुस्कान, जमिनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्य-हाम्रो लक्ष्य हो, जय किसान’, ओलीले लेखेका छन् ।