काठमाडौं । संसदीय समितिले आज भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने तयारी गरेको छ ।
यसका निम्ति प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
गत बिहीबार समितिले साँढे पाँच घण्टासम्म छलफल गरेर विधेयकमाथिको दफावार छलफल सकाएको थियो ।
समितिमा भएको छलफल र सांसदहरूले राखेका संशोधन प्रस्तावलाई आधार बनाएर विधेयकको प्रतिवेदन तयार पार्ने जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वनत तथा वातावरण मन्त्रालय र संसदीय समितिको सचिवालयलाई दिइएको छ ।
प्रस्तावित विधेयकमा भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन गर्ने प्रस्ताव छ ।
विधेयकका अधिकांश विषयमा सांसदहरूको संशोधनको मर्म अनुसार भाषा मिलाउने भनेर छाडिएको थियो । आज विधेयकको प्रतिवेदन तयार भएर प्रस्तुत हुनेछ । त्यसमाथि छलफल गरेर विधेयक पारित गर्ने तयारी समितिको छ ।
यसअघि नै समिति घरजग्गा व्यवसायीलाई हदबन्दी छुटको जग्गा बेच्न दिन समिति सहमत भएको छ । भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषयमा भाषा मिलाउने भनिएको थियो ।
प्रदेशको क्षेत्राधिकार, संविधानको साझा सूची लगायतका विषयमा समिति मौन रहेर विधेयक अगाडि बढाउन खोजिएको छ ।
हदबन्दी छुटको जग्गा राख्न डीपीआर र इआईए गर्नुपर्ने प्रावधान यथावत राख्ने विषयमा भने सहमति जुटेको छ ।