काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले असारमै पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागेको खुलासा भएको छ ।
पतञ्जली जग्गा प्रकरणमा मुद्दा दायर भएलगत्तै असार २३ गते खनालले माधवको राजीनामा माग गरेको खुलेको हो । खनालले माधवलाई लिखित सुझाव नै पेश गर्दै अध्यक्षबाट राजीनामा दिन आग्रह गरेका हुन् ।
नेपाल पार्टी अध्यक्षमा रहिरहँदा स्वयंलाई र पार्टीका कार्यकर्तालाई यस प्रश्नको उत्तर दिनका लागि गाह्रो पर्न सक्ने खनालले उल्लेख गरेका छन् ।
‘कमरेड माधवकुमार नेपालले आफैं नबिराउनु, नडराउनु भनिसकेको अवस्थामा उहाँले गल्ती गर्नुभएको छैन भने किन डराउने ? उहाँले पार्टीको अध्यक्ष पदबाट मुक्त भएर वा नैतिकता देखाएर राजीनामा दिएर, कानुनविद, बुद्धिजीवीहरुसँग गम्भीरताका उचभकक साथ भेटवार्ता र छलफल गरी आफ्नो मुद्दालाई दह्रो बनाउनतिर लाग्नुपर्छ,’ खनालले सुझावमा छन् ।
यो मुद्दा माधवलाई मात्रै लागेकाले सिंगो पार्टीले मुद्दा बोक्न नसक्ने पनि खनालले स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘यो मुद्दा कमरेड माधवकुमार नेपाललाई लागेको मुद्दा हो, पार्टीलाई लागेको मुद्दा होइन। त्यसकारण हामी आफ्नो व्यक्तिगत ढंगले र कानूनी रूपले उहाँलाई सहयोग गर्छौँ, तर सिङ्गो पार्टीले उहाँको मुद्दा बोक्नसक्दैन,’ ।