काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रवि लामिछानेलाई राखिएको भैरहवा कारागारमा सुविधाको अभाव रहेको पाइएको बताएको छ ।
आज लामिछानेलाई राखिएको ब्लकसहित कारागारको अनुगमन गर्दै आयोगको टोलीले सुविधाहरुको अभाव रहेको बताएको हो ।
लामिछानेलाई राखिएको ब्लकमा हावा पनि राम्ररी पास हुने अवस्था नरहेको आयोगकी प्रवक्ता लिली थापाले बताइन् । उनको कोठाको झ्यालहरू पनि सुरक्षाको कारण देखाउँदै टालिएको पाइएको थापाले जानकारी दिइन् ।
थापाले भनिन्, ‘उहाँ बस्ने कोठामा पंखा छ । तर झ्यालहरू टालिएको रहेछ । जेल प्रशासनले सुरक्षाका लागि टालिएको भन्नुभयो । हाम्रो आग्रहपछि त्यसलाई खोल्न तयार हुनुभएको छ,’ ।
बाहिर आएजस्तो लामिछाने बसेको कोठामा कुनै एसी नरहेको उनले बताइन् ।
उनले ठूलो कोठामा त्यहीँ बाथरुम, त्यहीँभित्र ट्वाइलेट एट्याच रहेको र सुरक्षाको कारण भनेर बाहिर घुमफिर गर्न नदिइएको पाइएको बताइन् ।
कारागारमा क्षमताभन्दा बढी कैदी राखेको समेत पाइएको छ । ‘२५० जना कैदी राख्ने क्षमता भएको यस कारागारमा ७०० कैदी राखिएको छ, यो न्यूनतम मानव अधिकारको हनन् भएको विषय हो, हामीले त्यो पायौं,’ थापाले भनिन्, ‘७०० जना कैदीलाई व्यवस्थापन गर्ने कारागार प्रमुखलाई म धन्यवाद दिन्छु।तर क्षमताभन्दा बढी कैदी राख्नु र कैदी व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी हो।’