वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ६ माईस्थानस्थित गहवामाई मन्दिर नजिकको गल्लीमा सञ्चालित दीपसन एण्ड सानवी ज्वेलर्समा बिहीबार प्रहरीले छापा मारेको छ ।
उक्त सुनचाँदी पसलमा बिलबिजक बिना सुनचाँदीको कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षक किशोर लम्साल नेतृत्वको टोलीले छापामा मारेको हो । बिहीबार दिउँसो करिब २ः३० बजेतिर सुनचाँदी पसलमा छापा मार्न प्रहरीको टोली प्रवेश गरेपछि वीरगन्जका सुनचाँदी व्यवसायी र कालीगढहरुले त्यहा पुगेर प्रतिवाद गरेका थिए ।उनिहरुले प्रहरीविरुद्ध नाराबाजीपनि गरेका थिए ।
प्रहरी नायब उपरीक्षक लम्साल नेतृत्वको टोलीले पसलमा छिरेर सञ्चालक दीपक सर्राफसंग सुनचाँदीको गरगहना खरिद र बिक्री गरिएको बीलबीजकहरु मागेर करिब तीन घण्टासम्म अनुसन्धान गरेको थियो ।त्यसक्रममा बीलबीजकमा केहि कैफियत देखिएपछि प्रहरीले आन्तरिक राजश्व कार्यालय वीरगन्जबाट कर्मचारीहरुलाई बोलाएर पसलका बीलबीजकहरु जिम्मा लगाएर आँफुहरु निस्किएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।
उनले पसलका सञ्चालकले उपलब्ध गराएका बीलबीजकको अनुसन्धान गर्दा खरिद गरिएको सुनको परिमाण, बिक्री गरेको भन्दा बढी देखिएको तर त्यसअनुसारको परिमाणमा सुन, मौज्दात नभेटिएको बताए ।त्यसपछि आन्तरिक राजश्वको कार्यालयका कर्मचारीलाई बोलाएर त्यसबोर थप अनुसन्धानका लागि जिम्मा लगाएर आँफुहरु पसलबाट निस्किएको उनले बताए ।
यता पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सर्राफले भने प्रहरीले गैरकानुनी रुपमा पसलमा छिरेर छापा मारेको आरोप लगाए । बीलभौचरको छानबिन र अनुसन्धान गर्ने काम राजश्व कार्यालयको भएको भन्दै अध्यक्ष सर्राफले प्रहरीले आफ्नो कार्यक्षेत्र बाहिर गएर पसलमा छिरेर दुःख दिएको आरोप लगाए ।
उनले भने,‘ केहि सूचना आएको थियो भने प्रहरीले राजश्व कार्यालय,वाणिज्य कार्यालय ,वीरगन्ज उद्योग वाणिज्य संघ र सुनचाँदी व्यवसायीसंग समन्वय गरेर मात्रै पसलमा छिर्नु पथ्र्यो । यो त सरासर प्रहरीको ज्यादती हो ।’