पर्सा । वीरगञ्ज महानगरपालिका–१६, नगवा बाईपास सडक नजिकबाट अनियमित सामान लोड भएको एक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले ना.६ ख. २४३४ नम्बरको ट्रकमा किराना, हार्डवेयर, कस्मेटिक र इलेक्ट्रोनिकसहित करिब रु. ३३,७७,७३१ बराबरका खुद्रा सामान फेला पारेको हो।
अनुसन्धानमा ट्रकमा रहेका सामानहरूको बिल वा आवश्यक दस्तावेज नभएको र बिल–बिजकभन्दा बढी मात्रामा लोड गरिएको खुलेपछि प्रहरीले ट्रकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया (बारा) पठाएको छ।
प्रहरी निरीक्षक चौलागाईंका अनुसार, सामानको वास्तविक मूल्य र बिल–बिजकमा ठूलो अन्तर देखिएकोले यसलाई कर छली र व्यापारिक अनियमितताको रूपमा लिइएको छ। उनले यस्ता गतिविधि नियन्त्रण र व्यापारिक ईमानदारी कायम राख्न तत्काल कारवाही आवश्यक रहेको बताए।
राजश्व अनुसन्धान कार्यालयले ट्रक र सामानको विस्तृत छानबिन गर्दै कानूनी प्रक्रिया अघि बढाउने जनाएको छ।