पर्सा । भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा बुधबार भारतीय कला, संस्कृति र मैत्रीपूर्ण सम्बन्धको झल्को दिने ‘कथाकली’ नृत्य प्रस्तुत गरिएको छ। काठमाडौँस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीरगञ्जको संयुक्त आयोजनामा भएको कार्यक्रममा दर्शकहरूले भारतीय परम्परागत नृत्यशैलीको गहिरो अनुभव गरेका थिए।
भारतको केरला राज्यमा प्रख्यात मानिने महाभारतको कथामा आधारित कथाकली नृत्य नौ जना दक्ष भारतीय कलाकारहरूले प्रस्तुत गरे। रंगीन पोशाक, सजीव हाउभाउ र पारम्परिक संगीतसहितको प्रस्तुतिले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनायो।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धबारे चर्चा गर्दै भने, “नेपाल र भारतबीच सदियौँदेखि सांस्कृतिक र भावनात्मक सम्बन्ध रहँदै आएको छ। जसका कारण दुवै मुलुकबीच सदैव सौहार्दपूर्ण सम्बन्ध कायम रहँदै आएको छ। यसलाई अझ सुदृढ गर्दै आपसी सद्भाव र सामञ्जस्यता कायम राख्नु आवश्यक छ।”
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नेपाल–भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए। महावाणिज्यदूत देवी सहाय मिणाले पनि दुवै मुलुकबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध ऐतिहासिक र गहिरो रहेको स्मरण गराए।