पर्सा । परवानीपुर गाउँपालिका–५, बहुअरीका स्थानीयले मुख्य सडक निर्माण सम्बन्धी विवादमा विरोध कार्यक्रम तीव्र पार्ने चेतावनी दिएका छन्।
सर्वदलिय आन्दोलन समितिले आज पत्रकार सम्मेलन गर्दै २०८०/१०/२० गते गाउँ भेलाबाट भएको २५ फिट चौडाइ (नाला सहित) सडक निर्माणको सर्वसम्मत निर्णय कार्यान्वयन नगरी, पछिल्ला निर्णयहरु बदर गर्दै साविकको संकुचित बाटोलाई ढलान गर्ने तयारी गरिनु जनविरोधी कदम भएको आरोप लगाएको छ।
समितिका अनुसार, मेयर र वडा अध्यक्षको उपस्थितिमा सुरुवाती चरणमा घर–टहराहरु भत्काउने काम सुरु भए पनि, प्रभावशाली व्यक्तिहरुका घर पुगेपछि कारबाही रोकियो। त्यसपछि न्यायिक समितिसम्म मुद्दा पुगे पनि, २०८१/०३/१७ मा पुनः २३ फिट सडक बनाउने निर्णय भएको थियो। तर, सो निर्णय पनि एक वर्षसम्म कार्यान्वयन नभएको समितिको आरोप छ।
२०८२/०१/२६ मा पुनः सामूहिक ज्ञापन बुझाए पनि, २०८२/०४/२६ मा अचानक पुरानो बाटोलाई ढलान गर्ने मौखिक निर्णय गरिएको समितिको दाबी छ। स्थानीयको सामूहिक विरोधपछि, केही व्यक्तिमाथि लक्षित गर्दै पालिकाले छलफल नगरी किटानी जाहेरी दर्ता गरेको भन्दै समितिले घोर आपत्ति जनाएको छ।
समितिले तीन माग अघि सारेको छ—
१. किटानी जाहेरी फिर्ता लिएर सडक विषयमा समितिसँग छलफल गर्न।
२. २०८१/०३/१७ को न्यायिक समितिको २३ फिट सडक निर्माणको निर्णय लागू गर्न।
३. उपभोक्ता समिति खुला सभा बैठकबाट गठन गरी सडकसम्बन्धी सम्पूर्ण सूचना लिखितमा सार्वजनिक गर्न।
समितिले चेतावनी दिएको छ कि, माग पूरा नभए चरणबद्ध रूपमा थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिनेछन्।