रौतहट । चन्द्रपुर नगरपालिका कार्यालयका शाखा अधिकृत मिश्रीलाल साहले आफूलाई पत्रकार भनेर चिनाउने अभिमन्यु पटेलले ३ लाख रुपैयाँ मागेको र रकम नदिएपछि नियोजित रुपमा चरित्रहत्या गर्ने अभियान थालेको आरोप लगाएका छन्।
साहका अनुसार, पटेलले आफ्नो व्यक्तिगत फेसबुक र टिकटक अकाउन्टमार्फत बारम्बार बदनाम गर्ने किसिमका भिडियो तथा सामग्री सार्वजनिक गर्दै आएका छन्। केही समयअघि पटेलले साहकी पत्नी रोशनी कुमारी साहको भिडियो आफ्नो सामाजिक सञ्जालमा अपलोड गरेपछि, साहले वास्तविकता बुझाउन तथा एकतर्फी सामग्री नहाल्न आग्रह गर्दै फोन गरेको र सो संवादलाई नै पटेलले योजनाबद्ध रूपमा प्रचार गरेको दाबी गरेका छन्।
हाम्रो हातमा प्राप्त फेसबुक मेसेंजर संवादका स्क्रिनसट अनुसार, पटेलले स्पष्ट रूपमा “केही खर्च ३ लाख छोडेर जानु, बाँकी के गर्ने हो म भन्छु” भन्ने उल्लेख गरेका छन्। त्यसमध्ये उनले साहसँग बारम्बार भेटको आग्रह गरेको, फोन र सन्देशको जवाफ नपाएको गुनासो गरेको र भेट नपाएपछि दिनभर चपुरमा बसेर राति गौर फर्किएको विवरण पनि उक्त संवादमा उल्लेख छ।
साहले भने, “म सामान्य कर्मचारी हुँ, ३ लाख दिने हैसियत छैन। म आफैं पीडित हुँ, बिना गल्ती म किन दिनु त्यत्रो पैसा?” उनका अनुसार, श्रीमती र उनका माइती पक्षसँग मिलेर पटेलले रकम असुल गर्न दबाब दिइरहेको र आफू अस्वीकार गरेपछि बदनाम गर्ने गतिविधिमा उत्रिएको हो। साहले मानसिक यातना, अनावश्यक बदनामी र गैरकानूनी बार्गेनिङ विरुद्ध कानुनी लडाइँ लड्ने प्रतिबद्धता जनाउँदै, “पत्रकारको नाममा पत्रकारिताको इज्जत माटोमा मिलाउने यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्छ,” भनेका छन्।
स्थानीय सरोकारवालाका अनुसार, अभिमन्यु पटेल विगतदेखि नै विवादास्पद गतिविधिमा संलग्न रहँदै आएका छन्। विशेषगरी मुस्लिम समुदायमाथि आपत्तिजनक टिप्पणी, प्रमाणबिनाका आरोप, जथाभावी भिडियो तथा स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्ने, र नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबाट योजना वा रकम नपाए धम्कीपूर्ण सामग्री सार्वजनिक गर्ने उनको बानी रहेको बताइन्छ।
यसरी पत्रकारिताको मर्यादा विपरीत काम गर्दै गैरकानूनी रूपमा व्यक्तिगत स्वार्थ पूर्ति गर्न खोज्ने व्यक्तिहरूमाथि नेपाल पत्रकार महासंघ र सम्पूर्ण पत्रकार समाजले कडाइका साथ कदम चाल्नुपर्ने स्थानीय बासिन्दाको माग छ।