वीरगन्ज । पर्सामा यसवर्ष कालाजारको पहिलो बिरामी भेटिएका छन्। वीरगन्ज महानगरपालिका-२७ उदयपुरघुर्मीका ४० वर्षीय पुरुषमा कालाजारको संक्रमण पुष्टि भएको हो।
ती पुरुष चालु आर्थिक वर्षमा पर्सा जिल्लामा कालाजारको पहिलो बिरामी भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा पर्सा जिल्लामा कालाजारको एक जनामा मात्रै संक्रमण भेटिएको थियो।
अहिले कालाजारको संक्रमण पुष्टि भएका वीरगन्ज–२७ का ४० वर्षीय पुरुष रोजगारीका सिलसिलामा दुई महिना पहिले भारतको गुजरात गएका थिए। त्यहाँ उनलाई साँझको समयमा पटक ज्वरो आउने लगायतका लक्षण देखिएपछि घर फर्किएका थिए। यही साउन ८ गते स्वास्थ्य उपचारका लागि वीरगन्ज–१५ स्थित तराई हस्पिटलमा पुगेका उनको स्वास्थ्य परीक्षणका क्रममा उनमा कालाजारको संक्रमण पुष्टि भएको थियो।
त्यसपछि स्वास्थ्य कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको टोली तराई हस्पिटलमा पुगेर पुन परीक्षण गर्दा पनि कालाजारको संक्रमण भएको पुष्टि भएको छ। आर्थिक अवस्था कमजोर रहेका ती पुरुषको उपचारमा आवश्यक सुई र औषधि प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरबाट झिकाएर उपचार गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए। हाल घरबाटै उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सामान्य रहेको ठाकुरले जानकारी दिए।
चालु आर्थिक वर्षको पहिलो महिनामै जिल्लामा कालाजारको संक्रमित भेटिएपछि स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरेर कालजार, मलेरिया, डेंगी लगायतका कीट जन्य रोगको रोकथाम र नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए।