वीरगन्ज । वीरगन्जमा एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को ट्रफी अनावरण गरिएको छ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेस युनाइटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा ट्रफीको अनावरण गरेका हुन्।
मधेस स्पोर्टस प्रा.लिद्धारा आयोजित कार्यक्रममा मेयर सिंहले मधेस युनाइटेडको नयाँ जर्सी सार्वजनिक गर्दै टोलीकी मार्की खेलाडी निरुता ठगुन्नालाई हस्तान्तरण गरे। उनले भलिबलको विकास र महिला सशक्तीकरणमा लिगको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, मधेस युनाइटेडका सञ्चालक विशाल अग्रवाल लगायतले खेलकुदको सामाजिक, मानसिक र शारीरिक लाभबारे चर्चा गर्दै मधेसमा यस्ता गतिविधि विस्तार गर्नुपर्नेमा जोड दिए।
मधेस युनाइटेडकी सञ्चालन प्रमुख खुशी शिवाकोटीले टोलीको विगत, सिकाइ र आगामी योजनाबारे जानकारी दिँदै यसपटक नेदरल्याण्डका तीन अन्तर्राष्ट्रिय खेलाडी अनुबन्धन गरिएको बताइन्। मार्की खेलाडी निरुताले यसपटक ट्रफी मधेसमै ल्याउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली सेना श्रीजंग गणका सेनानी लोकेन्द्र कार्की, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सन्तोष ढुंगेल, आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख टिकाराज चौलागाईं, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोधकुमार गुप्ता, महासंघको मधेश प्रदेश निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठलगायतकाको पनि उपस्थिति थियो।