वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर हत्याकाण्डको विषयमा सर्वोच्च अदालतबाट पूर्णपाठ आइनसकेको अवस्थामा पनि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाएको छ।
पार्टीका प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गर्दै अदालतको आदेशमा यादवको नाम नजोडिएको भए पनि पूर्वाग्रही ढंगले समाचार सम्प्रेषण गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
जसपा नेपालले २०६३ सालको सो दुखद घटनाका बारेमा तत्कालीन सरकारले नै उच्चस्तरीय न्यायिक जाँचबुझ समिति गठन गरिसकेको र राष्ट्रिय मानव अधिकार आयोग तथा संयुक्त राष्ट्रसंघीय निकायले समेत अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिसकेको जनाएको छ।
यो विषय राजनीतिक भएकाले यसको समाधान पनि राजनीतिक शक्तिहरूबाटै खोजिनुपर्ने पार्टीको तर्क छ। यद्यपि, सर्वोच्च अदालतको आदेशअनुसार निष्पक्ष अनुसन्धान भएमा पनि पार्टीलाई कुनै आपत्ति नभएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले अदालतको आदेशको पूर्णपाठ नआउँदै गरिएका भ्रामक प्रचारमा विश्वास नगर्न र अदालतको आदेशविरुद्ध कुनै पनि गतिविधि नगर्न आम नागरिकलाई अपिल गरेको छ। साथै, पार्टी अध्यक्ष यादव र जसपा नेपाल सर्वोच्च अदालतको आदेशप्रति पूर्ण सहयोग गर्न तयार रहेको पनि जनाइएको छ।
विज्ञप्तिमा आम सञ्चार माध्यमहरूलाई पनि मधेश आन्दोलनलाई कमजोर पार्ने र यादवलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरिएको छ।
यसैबीच, संघीय लोकतान्त्रिक मोर्चाले गौर हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि आकस्मिक बैठक आह्वान गरेको छ। आज साँझ ५ बजे जनता प्रगतिशील पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा गौर हत्याकाण्ड, रुपन्देही ३ को उपनिर्वाचनको तयारी र उपसभामुखलाई हटाउने विषयमा छलफल हुने मोर्चाका नेता केशव झाले बताएका छन्।
मोर्चामा आबद्ध जसपाका अध्यक्ष उपेन्द्र यादवलाई गौर हत्याकाण्डको मुख्य योजनाकारका रूपमा हेरिने भएकाले सर्वोच्चको आदेशपछि मधेश केन्द्रित दलहरूमा तरंग आएको छ।
बैठकमा रुपन्देही उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)को उम्मेदवारी खारेज भएपछि स्वतन्त्र उम्मेदवारलाई सघाउने विषयमा पनि छलफल हुनेछ। यस्तै, उपसभामुखलाई हटाउन कांग्रेस–एमालेले तयारी थालेको सन्दर्भमा मोर्चाको भूमिकाबारे पनि बैठकमा छलफल हुने बताइएको छ। प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पुर्याउन मोर्चामा आबद्ध दलहरू निर्णायक हुने भएकाले यो बैठकलाई महत्वका साथ हेरिएको छ।