बारा । वीरगञ्ज महानगरपालिका–३२ स्थित नारायणी स्टील उद्योगमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। मृतक बाराको जीतपुरसिमरा–१४ का २२ वर्षीय उपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ।
रात्री सिफ्टमा वेल्डिङ सेक्सनमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका चौधरीलाई नारायणी अस्पताल पुर्याइए पनि चिकित्सकले राति ३ बजे मृत घोषणा गरेका थिए। चौधरी ठेकेदारमार्फत उद्योगमा कार्यरत रहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।
मृतकका आफन्त र मजदुर संगठनहरूले उद्योगमा सुरक्षित कार्य वातावरण नहुँदा दुर्घटना भएको दाबी गरेका छन्। अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष बेनी तिमिल्सिनाले क्याल ग्रुपले मजदुरलाई ट्रेड युनियन अधिकार नदिने, कानुनी सुविधा नपाउने र अनुगमनमै अवरोध गर्ने आरोप लगाए।
तर, क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्यालले चौधरी नियमित मजदुर नभए पनि उनको दुर्घटना बिमा भएकाले सरकारले तोकेको क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए। उनले आर्थिक मन्दीका कारण ठेकेदारमार्फत श्रमिक भर्ना गर्नुपरेको र दक्ष श्रमिक अभावमा दुर्घटना हुने गरेको बताए।