वीरगञ्ज । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एमालेको मधेस प्रदेश सदस्य मोहम्मद नेजामुदिनले भारत र चीनबिच हालै लिपुलेक मार्ग हुँदै व्यापार सञ्चालन गर्ने सहमति भएकोप्रति गम्भीर आपत्ति र विरोध प्रकट गरेका छन् ।
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको अविभाज्य भूभाग रहेको ऐतिहासिक अभिलेख, तथ्य, प्रमाण र नक्साको आधारमा पुष्टि गर्दै यस्तो सहमति नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रत्यक्ष उल्लङ्घन भएको बताएका छन् ।
निजामुदिनले नेपालको सहमति र संलग्नता बिना दुई छिमेकी राष्ट्रले नेपाली भूभागमा कुनै पनि गतिविधि गर्नु अस्वीकार्य र मित्रतापूर्ण सम्बन्धको भावना विपरीत भएको उल्लेख गरेका छन् । उनले सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको यस्तै सहमति र सन् २०२० मा भारतले लिपुलेक हुँदै सडक निर्माण गरेको घटनाले नेपालमा व्यापक असन्तोष निम्त्याएको स्मरण गराए ।
नेपाल सरकारले निरन्तर कूटनीतिक माध्यमबाट आफ्ना दाबीहरू प्रस्तुत गर्दै आएको उल्लेख गर्दै निजामुदिनले नेपाललाई बेवास्ता गरेर नेपाली भूभागको प्रयोग सम्बन्धी सहमति गर्नु घोर निन्दनीय भएको बताए । उनले भने, “हामी दुई छिमेकी मित्र राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्न चाहन्छौँ, तर यस्ता सम्बन्धहरू संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलका सिद्धान्तमा आधारित हुनुपर्छ, जसले राष्ट्रहरूको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरोस् ।”
राष्ट्रिय युवा संघ नेपाल नेपाली भूभागको रक्षाका लागि दृढ र प्रतिबद्ध रहेको र नेपालको सहमति बिना यस क्षेत्रमा गरिने कुनै पनि गतिविधिलाई अस्वीकार गर्ने उनले स्पष्ट पारे । साथै, उनले नेपाल सरकारलाई तत्काल कूटनीतिक पहल गरी राष्ट्रिय हित, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरे ।
निजामुदिनले राष्ट्रिय युवा संघ नेपाल संविधान, ऐतिहासिक अभिलेख र जनभावनाअनुसार आफ्नो भूमिको रक्षा गर्न निरन्तर सचेत र प्रतिबद्ध रहेको तथा आवश्यक परे जस्तोसुकै कदम चाल्न तयार रहेको जानकारी दिए । उनले भारत र चीनलाई नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न जोडदार माग गरेका छन् ।