वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा हैजा महामारीका रूपमा फैलिन थालेको छ । दुई दिनमै महानगरका विभिन्न वडामा २८ जनामा यसको संक्रमण पुष्टि भइसकेको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । हैजाका संक्रमित बढ्न थालेपछि स्थानीय त्रसित बनिरहेका छन् ।
जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार महानगरमा समुदायस्तरमै शुक्रबारदेखि हैजाको संक्रमण देखिन थालेको हो । ‘हिजोदेखि महानगरका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा २८ जनामा संक्रमणको पुष्टि भइसक्यो,’ उनले जानकारी दिए ।
वीरगञ्जका ११, १२, १३, १४, १६ नम्बर वडामा हैजा संक्रमित बढी फेला परेका छन् । यसले महामारीको गम्भीर रूप लिन सक्ने जनस्वास्थ्य कार्यालयले चेतावनी दिएको छ । वीरगञ्जको नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर, तराई अस्पताल, नेशनल मेडिकल कलेज, अलि अर्थो सेन्टरमा हैजा संक्रमितलाई राखिएको महानगरपालिकाले जनाएको छ ।
दूषित पानी र खानाले हैजाको संक्रमण देखिएको महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु शाहले बताए । उनका अनुसार हाल संक्रमणको आंशका गरी स्वास्थ्य जाँच बढाइएको छ ।
कहाँबाट फैलियो ?
शुक्रबार साँझ महानगरपालिकाको वडा नम्बर १२ मुर्लीमा झाडापाखालाका बिरामी एक्कासि बढ्यो । स्थानीय तराई अस्पतालमा हैजा संक्रमित फेला परेपछि परीक्षण सुरु गरिएको थियो । जहाँ ३० जनामा गरिएको जाँचमा ३ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै अन्य अस्पतालमा जाँच गर्दा संक्रमितको संख्या बढेको पाइएको हो ।
अहिले महानगरभित्र बाक्लो जनसंख्या भएको क्षेत्र यतिवेला महामारीको चपेटामा पर्न सक्ने देखिएको कार्यालयले चिन्ता व्यक्त गरेको छ ।
दुई दिन विद्यालय बन्द
हैजा प्रकोप बढ्न थालेसँगै महानगरभित्र सुरक्षा सतर्कता पनि बढाइएको छ । यसैबिच महानगरपालिका कार्यालयले आजै (शनिबार) सबै वडाका स्वास्थ्यकर्मीसँग छलफल गरेर सबै विद्यालयहरू दुई दिन बन्द गर्ने निर्णय गरिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै आइतबार र सोमबार दुई दिन विद्यालय बन्द गर्ने निर्देशन दिएको हो । साथै पानीपुरी, चटपटे, चाटसहित स्ट्रिट फुड बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय पनि भएको छ । स्वास्थ्यकर्मीहरूले हैजाको लक्षण देखिए तुरुन्त नजिकैको स्वास्थ्य केन्द्रमा पुग्न, उमालेर मात्रै पानी पिउन आग्रह गरिरहेका छन् । प्रकोपबाट जोगिन जनचेतना फैलाउने कार्य भइरहेको छ ।
दूषित पानी र खाना मुख्य कारण
महानगरमा खानेपानीको हाहाकार भएपछि तीनै तहका सरकारले त्यसको आपूर्तिका लागि धमाधम डीप बोरिङको व्यवस्था गर्यो । त्यसपछि सर्वसाधारणले डीप बोरिङको पानी प्रयोग गर्न थाले, तर उक्त पानी कत्तिको पिउनलायक छ भनी कुनै निकायबाट पनि जाँच भएन । वीरगञ्जमा ढल र खानेपानी प्रणाली अस्तव्यस्त छ । हैजा जोखिम बढ्नुमा यही पानी मुख्य कारक भएको चिकित्सकहरूले बताएका छन् ।
वीरगन्ज हेल्थ केयरका चिकित्सक अबुलहैस अन्सारीका अनुसार ‘भिब्रियो कोलेरा’ ब्याक्टेरिया नामक भाइरसको इन्फेक्सनका कारण यो समस्या आउने गर्छ ।
दूषित पानी र खानाले नै यो रोग लाग्ने गरेको उनको भनाइ छ । भन्छन्, ‘रोग लागिसकेपछि सुरुमा झाडापाखाला लाग्छ, बान्ता आउँछ । त्यसपछि ब्ल्डप्रेसर कम हुँदै मान्छेको मृत्यु हुन सक्छ ।’ त्यसकारण यो डरलाग्दो रोगको रूपमा लिनुपर्ने उनी बताउँछन् ।
दुई जनाको मृत्यु
झाडापाखाला वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता उदय नारायण सिंहका अनुसार मृतकमा सुरुमा झाडापखाला देखिएको र परीक्षण गर्न नपाउँदै मृत्यु भएको हो, वीरगञ्ज हेल्थ केयरमा पनि हिजो एक जना महिलाको झाडापखालाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
_SXH2EHF76v.jpg)
हेल्थ केयरका चिकित्सक अन्सारीका अनुसार जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर–९ निवासी एक महिलालाई झाडापखाला लागेका र उपचारका क्रममा उनको मृत्यु भएको हो । यद्यपि मृतक दुवैमा हैजा जाँच भइनसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । मृतकहरूको परिचय दिन भने अस्पतालले अस्वीकार गरेको छ ।