वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ र लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीको संयुक्त आयोजनामा आज छिपहरमाई गाउँपालिकाको वडा नम्बर २ स्थित सम्भौता स्वास्थ्य चौकीमा मृगौला रोग पहिचान तथा रोकथाम कार्यक्रम सम्पन्न भएको छ । इन्दिरा वेलनेश सेन्टर वीरगञ्जको सहयोगमा स्थानीय समुदायलाई मृगौला रोगबारे सचेत गराउने तथा प्रारम्भिक चरणमै स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नारायणी अस्पताल वीरगञ्जका इमर्जेन्सी विभाग प्रमुख डा. उदय नारायण सिंहले मृगौला रोगका कारण, लक्षण र सावधानीका उपायबारे विस्तृत जानकारी दिएका थिए । मधुमेह, उच्च रक्तचाप, अत्यधिक नुन सेवन र अस्वस्थ जीवनशैली मृगौला रोगका प्रमुख कारण भएको उल्लेख गर्दै डा.सिंहले नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउन आग्रह गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ का प्रथम उप–गभर्नर लायन रामबिहारी पाण्डेले यस्ता कार्यक्रमहरूले गाउँपालिकाका बासिन्दामा स्वास्थ्य सचेतना बढाउने र रोगको प्रारम्भिक पहिचानमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्न आग्रह गरेका थिए ।
त्यसैगरी छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले लायन्स क्लबद्वारा आयोजित यस्ता कार्यक्रमले ग्रामीण स्तरमै जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै लायन्स क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सो कार्यक्रममा २०० भन्दा बढी स्थानीयवासीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । रक्तचाप, सुगर जाँच तथा मृगौला कार्यसम्बन्धी आधारभूत परीक्षणसमेत गरिएको थियो ।
लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष एवं जोन चेयरपर्सन लायन सुनिल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ का डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, छिपहरमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्नी कुमार साह, वडा नम्बर २ का वडा अध्यक्ष महेन्द्र साह कलवार, स्वास्थ्यकर्मीद्वय शम्भु दास तात्वा, ममता चौधरी थारु ल्गायत स्थानिय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।