वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आ.व. २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा सार्वजनिक भएको छ। मन्त्रालयले २०८२ साल भदौ ६ गते प्रकाशित नतिजाअनुसार पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाले ७१.२५ प्रतिशत अंक प्राप्त गरी जिल्लाभरिका १४ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको छ।
गुणस्तर परीक्षण पश्चात कायम भएको नतिजामा पटेर्वा सुगौली गाउँपालिका मधेस प्रदेशअन्तर्गत रहेका सबै गाउँपालिकामध्ये दोस्रो स्थानमा परेको छ।
यस उपलब्धिप्रति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले खुसी व्यक्त गर्दै भने, “यो सफलता सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी र सरोकारवालाको संयुक्त प्रयासको नतिजा हो। यसले हाम्रो सेवा प्रवाहलाई अझ पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन प्रेरणा दिएको छ।”
उनले आगामी दिनमा पनि सुशासन, विकास र सेवा प्रवाहमा अझ राम्रो नतिजा ल्याउन गाउँपालिका प्रतिबद्ध रहने बताए।