वीरगञ्ज, भदौ ८ । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंहको विशेष उपस्थितिमा आइतवार पर्सामा जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। बैठकले हाल फैलिरहेको झाडा पखाला र कोलेरा (हैजा) रोकथाम तथा नियन्त्रणका लागि विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।
समितिले महामारी नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेशागत संघ संस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, सञ्चारकर्मी, दातृ निकायलगायतसँग सहकार्य गर्दै माइकिङ, घरदैलो कार्यक्रम र सचेतनामूलक अभियान तत्कालै सघन रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
स्वास्थ्य जनशक्तिको अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बैठकले स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेक विदा स्वीकृत नगर्ने र आवश्यक परे जिल्लाभित्र रहेका स्वास्थ्यकर्मीलाई तोकिएको स्वास्थ्य संस्थामा खटाउने व्यवस्था मिलाउने निर्णय गरेको छ।
यस्तै, औषधि, किट तथा खानेपानी शुद्धिकरणका लागि आवश्यक सामग्रीको पर्याप्तता सुनिश्चित गर्न स्वास्थ्य कार्यालय, पर्साले पहल गर्ने र यसका लागि प्रदेश सरकार तथा संघीय सरकारसँग सहयोग माग्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले महामारी नियन्त्रणका लागि Joint Operation Centre स्थापना गर्ने, फोकल पर्सन तोक्ने र सूचनाको समयमै आदान–प्रदान गर्ने व्यवस्था गर्ने निष्कर्ष निकालेको छ। साथै, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने जनशक्ति तथा स्रोत–साधनलाई पूल खडा गरी समिति मार्फत वितरण, व्यवस्थापन र अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ।
महामारीको स्रोत पत्ता लगाउन अनुसन्धान कार्य सम्बन्धित स्थानीय तहले गर्ने र त्यसका लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा संघीय सरकारको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ।
बैठकमा सहभागी सरोकारवालाले हाल देखापरेको महामारी नियन्त्रण र रोकथामका लागि सबै तहले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।