बारा । तीजको पूर्वसन्ध्यामा वीरगन्ज युवा समाजले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया स्थित ज्येष्ठ नागरिक सम्मान वृद्धाश्रम नेपाल का आमाबुवासँग तीज पर्व सभ्य र भव्य रुपमा मनाएको छ।
“परिवर्तनको लागि वीरगन्ज युवा समाज” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै समाजले बुवाको मुख हेर्ने दिन र तीज पर्वको अवसर पारेर वृद्धाश्रममा आश्रित ८ जना ज्येष्ठ नागरिकलाई दर खुवाएर सेवा गरेको हो। यस क्रममा आश्रित बुबा–आमाको अनुहारमा मुस्कान ल्याउन समाजले फलफुल, मिठाई, दही, चिसो पेय पदार्थसहित एक छाक खाना खुवाएको थियो। साथै, सहभागी सदस्यहरुले साडी, शर्ट, टिसर्ट र केही नगद उपहार प्रदान गरेका थिए।
कार्यक्रम समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सदस्यहरु सुशील श्रेष्ठ, लालबाबु सिंह, निरज श्रेष्ठ, काजल कोईराला, पुष्पराज कोईराला, रोजी प्रधान, बिनोद धिमाल, मनोज गुप्ता, जगत गुप्ता, कमलेश सर्राफ, बिक्रान्त खनाल लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा अध्यक्ष थापाले परिवर्तन र सकारात्मक सन्देशमार्फत समाजसेवामा युवा पुस्तालाई प्रेरित गर्दै आएको समाजले आश्रमका आमाबुवासँग तीज मनाउन पाएकोमा गर्व महसुस गरेको बताए। उनले भने, “हामीले गरेको थोरै सहयोगले उहाँहरु रमाएको, हाँसेको र खुसी भएको देख्दा हामीलाई अपार खुशी मिल्यो। असहाय, विपन्न र ज्येष्ठ नागरिक हाम्रो समाजका गहनाहरु हुन्, तसर्थ सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ।”
सहभागी सदस्यहरुले पनि यस्ता साना प्रयासहरुले असहाय ज्येष्ठ नागरिकलाई खुशी मिल्ने भन्दै यसले सामाजिक सद्भाव र एकता सुदृढ भई मानवता बलियो हुने विश्वास व्यक्त गरेका थिए।