वीरगन्ज । पर्साका विभिन्न स्थानमा सुरक्षाकर्मीकै संरक्षणमा जुवा खेलाइने गरेको खुलेको छ । प्रहरीले शहरका केही ठाउँमा देखाउनकै लागि छिटपुट कारबाही गरे पनि, आन्तरिक मिलेमतोका कारण ठूलो स्तरमा जुवा खेल्ने अखडा भने निर्बाध सञ्चालन भइरहेको स्रोतले जनाएको छ ।
वीरगन्जका होटल, रिसोर्ट, गुप्त कोठा र भाडाका भवनहरूमा संगठित रूपमा जुवा खेलाइँदै आएको छ । प्रहरी संगठनले समेत संरक्षण गरेको भनिएको एक घटनामा वीरगन्जकै मुरली चौक भित्रि गाउँमा रहेको एक घरमा करोडौँको जुवा खालबाट रकम असुली गर्ने गरिएको पाइएको छ । त्यसैगरी पर्साको पकाहाँ मैनपुर गाउँपालिका–१ धोरेसहित विभिन्न गाउँमा रातिको समयमा ठूलो स्तरको जुवा सञ्चालन हुने गरेको स्थानीयले बताएका छन् ।
स्रोतका अनुसार प्रत्येक रात करिब १० बजेदेखि विभिन्न स्थानका जुवाडेहरू भेला हुने गर्छन् । जुवा खेलाइने स्थानहरूबाट स्थानीय प्रहरी चौकीलाई बाक्लै कमिसन बुझाइने भएकाले खबर दिए पनि प्रहरी पुग्नुअघि नै जुवाडेलाई भगाइने गरिएको आरोप स्थानीयले लगाएका छन् ।
वीरगन्जको मुरली र पकाहाँ मैनपुरको धोरे क्षेत्रमा मात्र नभई सीमावर्ती गाउँहरूका समेत ठूलो संख्यामा जुवाडेहरू जम्मा हुने गरेका छन् । एकै रातमा करोडौँ रुपैयाँसम्मको लेनदेन हुने गरेको बताइन्छ ।
नाम नखुलाउने शर्तमा एक जना प्रहरी अधिकृतले स्वीकार गर्दै भने, “हामीले जानकारी आएपछि केही प्रहरी कार्यालय प्रमुखलाई सूचित गर्दा उनीहरूले आफैँको हैसियतमा खेल रोक्न नसकिने बताए । जिल्ला प्रहरी कार्यालय पर्सा वा प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निर्देशन बिना यस्ता गतिविधि रोक्न सकिन्न भन्ने उनीहरूको भनाइ छ ।”
स्थानीयको आरोपअनुसार, प्रहरीकै आँखा छल्न जुवा सञ्चालकहरूले “सेटिङ” को नाममा मासिक ठूलो रकम प्रहरी अधिकारीहरूलाई बुझाउने गरेका छन् । राति मात्र सञ्चालन हुने यस्ता अखडामा धनाढ्य व्यापारी, उच्चपदस्थ कर्मचारी र प्रभावशाली व्यक्तिहरूको समेत सहभागिता हुने गरेको पाइएको छ ।
जानकारहरूका अनुसार, प्रहरी संगठनभित्रैको भ्रष्टाचारकै कारण यस्ता अवैध गतिविधि मौलाइरहेका छन् । प्रहरीकै मिलेमतोमा जुवा खेलाइरहेकाले समाजमा अपराध, ऋणभार र पारिवारिक विघटनका घटनाहरू अझ बढ्ने खतरा रहेको उनीहरूको भनाइ छ ।