परवानीपुर , बारा । परवानीपुर गाउँपालिकाले वडा नं. ५ बहुअरीको मूल सडक निर्माणमा उत्पन्न अवरोधबारे सोमबार (मिति २०८२ भदौ ९ गते) प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरूले राजनीतिक स्वार्थ राखी भ्रामक प्रचार–प्रसार गर्दै सडक निर्माण कार्य अवरुद्ध पारेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गाउँपालिकाका अनुसार विगत तीन वर्षदेखि नै बहुअरीको मूल सडक निर्माणका लागि योजना तथा बजेट विनियोजन गरिएको भए पनि कतिपय व्यक्तिहरूले पटक–पटक बहानाबाजी गर्दै काम अवरुद्ध गर्दै आएका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार मिति २०८० पुस २० गते स्थानीय भद्रभलाद्मी र बुद्धिजीवीहरूको उपस्थितिमा बसेको बैठकले २५ फिट चौडाइको सडक निर्माण गर्ने सर्वसम्मत निर्णय गरेको थियो। सोही निर्णयअनुसार पटक–पटक सूचना जारी गरिएको र नाला तथा सडक निर्माण कार्य थालिएकोमा पछि पुनः २१ फिट सडकको माग गर्दै उजुरी दर्ता भएको जनाइएको छ।
न्यायिक समिति र कार्यपालिका हुँदै अन्ततः गाउँसभाले मिति २०८२ असार १४ गतेको १६औं अधिवेशनबाट वडा नं. ५ को वडासभाको निर्णयअनुसार नै मूल सडक निर्माण गर्ने निर्णय सर्वसम्मत रुपमा स्वीकृत गरेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।
गाउँपालिकाले उपलब्ध बजेट र स्थानीय सहमतिअनुसार अहिले न्यूनतम १९ फिटदेखि अधिकतम २१ फिटसम्मको सडक निर्माण हुने अवस्था रहेको जनाएको छ। सो क्रममा करिब ८८ देखि ९७ घरका पर्खाल भत्काउनुपर्ने बाध्यता देखिएकाले सबैलाई मुआवजा दिने वा निजी जग्गा उपलब्ध गराउने विषयमा पूर्ण सहमति हुन नसकेको पनि विज्ञप्तिमा उल्लेख छ।
प्रवक्ता महमद नुरुल होदा अंसारीद्वारा जारी विज्ञप्तिमा राजनीतिक तथा व्यक्तिगत स्वार्थका कारण आमजनतालाई भ्रममा पार्दै सडक निर्माण रोक्ने कार्य गैरजिम्मेवारपूर्ण भएको जनाउँदै तत्काल अवरोध रोक्न आग्रह गरिएको छ। साथै कानुनी प्रक्रिया पूरा गरी सडक निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ।