पर्सा । हाल वीरगन्ज क्षेत्रमा हैजा रोग फैलिएको खबर सार्वजनिक भएपछि पकहाँ मैनपुर गाउँपालिका–४ नं. वडा कार्यालयले स्थानीयलाई सचेतना र सतर्कता अपनाउन विशेष सूचना जारी गरेको छ।
वडा अध्यक्ष ढेडि प्रसाद यादवद्वारा हस्ताक्षरित सूचनामा गाउँघर सफा–सुग्घर राख्न, सडक तथा सार्वजनिक स्थलमा फोहोर नफाल्न र दिसा–पिसाब नगर्न सबैलाई आग्रह गरिएको छ। साथै, प्रत्येक बस्ती, बाटो, घाटोमा स्वच्छता कायम नगरेमा वडा कार्यालयबाट उपलब्ध हुने कुनै पनि सेवा–सुविधा बन्द हुने चेतावनी दिइएको छ।
सूचनामा वडा भित्रका प्रत्येक टोल र बस्तीमा सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने र हैजा रोगको जोखिम न्यूनीकरणका लागि स्थानीयलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।
यसअघि वीरगन्जमा हैजा रोगका कारण जनस्वास्थ्यमा उच्च जोखिम बढेको भन्दै विभिन्न स्थानीय तहहरूले सचेतना कार्यक्रम र अपिल सार्वजनिक गर्दै आएका छन्।