काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभर २३ वटा नयाँ इलाका प्रशासन कार्यालय थप्ने तयारी गरेको छ । मन्त्रालयका अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र अब निर्णय मात्र बाँकी रहेको छ ।
नयाँ थपिन लागेका इलाका प्रशासन कार्यालयहरुमध्ये मधेश प्रदेशमा सिराहाको सुखिपुर, धनुषाको धनुषाधाम, सर्लाहीको वलरा र पर्साको पोखरीया रहेको छ । यसैगरी बागमती प्रदेशमा सिन्धुलीको दुधौली र काठमाडौंको टोखा पर्छन् ।
यस्तै, कोशी प्रदेशमा ताप्लेजुङ्गको सिरिजंगा, खोटाङ्गको हलेसी, ओखलढुंगाको घोराखोरी र संखुवासभाको हेदङ्गवा रहेका छन् । गण्डकी प्रदेशतर्फ तनहुँको भिमाद, अर्घाखाँचीको सितगंगा र चितवनको खैरहनी समावेश छन् ।
कर्णाली प्रदेशमा डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा बझाङ्गको देउरा, अछामको साफेबगर, डोटीको विपिनगर, दार्चुलाको गोकुलेश्वर र बैतडीको मेलौली पर्छन् ।
यससँगै रुपन्देहीको गैडहवामा पनि इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ ।
मन्त्रालयका अनुसार कार्यालय स्थापना भएपछि स्थानीय प्रशासनिक सेवा सहज हुने, नागरिकलाई आवश्यक सेवामा छिटो पहुँच पुग्ने र केन्द्रदेखि टाढा रहेका जनताले पनि नजिकैबाट सेवा पाउने सुविधा हुने विश्वास गरिएको छ ।