रौतहट । रौतहटको गरुडा नगरपालिका ५ शिवनगरस्थित एक घरमा गत साउन २९ मा सशस्त्र प्रहरी बलले छापामारी गरी चिनी, सर्फ, रासायनिक मल तथा सिमेन्ट बरामद गरेको विषयमा सशस्त्र प्रहरी निरीक्षकलाई कारवाही गरिएको छ । सशस्त्र प्रहरी नीरिक्षक रामचन्द्र लागेजुलाई कारवाही गरिएको हो । ‘उनलाई नसयित दिइएको छ’, सशस्त्र प्रहरी मुख्यालय स्रोतले भन्यो ।
सशस्त्र प्रहरीले बरामद गरेको सामग्रीको मूल्य ४ लाख २० हजार ६०० रुपैया बराबरको थियो । सशस्त्र प्रहरी बल दुधियाभार बेसका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र लागेजुको कमान्डमा सशस्त्र प्रहरी बलको टोली पुगेर अवैध सामान आशंका गरिएको घरलाई घेरा हालेको थियो । त्यहा कमाण्ड राम्रो गर्न नसकेको र बरामद भएको सबै सामान नबुझाएको भन्दै कारवाही गरिएको हो ।
लागेजुको टोली पुगेपछि सशस्त्र बेस सन्तपुरका डीएसपी राजेन्द्र बस्नेत, सशस्त्र बेस देवाहीका प्रहरी निरीक्षक दधिराम पौडल र ११ नम्बर गणका प्रहरी निरीक्षक गणेश बोहराको नेतृत्वमा सशस्त्र प्रहरी बलको टोलीले घेरा हालेर विभिन्न कानुनी प्रक्रिया पूरा गरिसकेको थियो ।
करिब ६ सय बोरा चिनी लगायतका सामाग्री बरामद भएपनि १ सय २० बोरा मात्रै बरामद भएको देखइएको विषयमा सशस्त्र प्रहरी बल मुख्यालयले छानविन गरेको थियो ।
सशस्त्र प्रहरी प्रस्तावित गुल्म गौरका इन्चार्ज डीएसपी गान्डीवराज स्याङतान साउन २६ मा बिदामा थिए । उनको स्थानमा अमर लामाले त्यही २६ गते कमाण्ड सम्हालेका हुन । लामा साउन १३ गते मात्रै ११ नम्बर गणमा हाजिर भएका थिए । उनी हाजिर भएको तीन दिनमै तस्करीको सामान फेला परेको थियो भने फेला परेको सामान थोरै दाखिला भएको थियो ।
शिवनगरमा सशस्त्र प्रहरीले कारबाही गरिरहेको ठाउँमा मुचुल्का टोली लिएर पुग्न माथिल्लो निकायबाट निर्देशन आएपछि करिब साढे ४ बजे पुगेका थिए । सशस्त्र प्रहरीले गोदामलाई घेरा हालेको करिब दुई घन्टापछि डीएसपी लामाको नेतृत्वमा गौर भन्सारका नासु दिनेश कुमार घिमिरे, जिल्ला प्रशासन कार्यालयका नासु शम्भु राउत, राष्ट्रिय अनुसन्धानका वरिष्ठ अनुसन्धान सहायक हरिकिशोर सहनी, वडाध्यक्ष रामबाबु प्रसाद चौधरी र वडा सदस्य शम्भु राय यादवको टोली पुगेको थियो । टोलीले मुचुल्का गर्दा चिनी १०६ बोरा, सर्फ १० बोरा, रासायनिक मल १० बोरा, सिमेन्ट ९ बोरा बरामद गरी भन्सार चलान गरेको थियो ।
घटनाको भोलिपल्ट डीएसपी लामासहित डिउटीमा खटिएका करिब १८ जनालाई सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालय छिन्नमस्ता बाहिनीमा हाजिर गराइएको थियो । अनुसन्धानको क्रममा करिब ३ दिन बाहिनीमै राखेर डीएसपी लामालाई मुख्यालयमा पठाइएको छ । अनुसन्धानको लागि बाहिनीमा बोलाइएका बाँकी १७ सशस्त्र प्रहरी कर्मचारीलाई फिर्ता गरिएको छ ।
घटनामा दुधियाभारका प्रहरी निरीक्षक लागेजुलाई नसित कारबाही गरिएको मूख्यालय स्रोतको दावी छ । शिवनगरमा छापामारी गरिएको गोदाम नेपाल भारत सिमानाबाट करिब ३५ किलोमिटर पर्दछ । रौतहटको बंकुल, रामपुर खाप, मठिया नाका प्रयोग गरेर अवैध भारतीय सामान नेपालतिर प्रवेश गर्दा सशस्त्र प्रहरीको बंकुल युनिट, रामपुर खाप युनिट, मठिया अस्थायी बेस हुँदै फतुवा युनिट तथा देवाही गोनाही युनिट पार गर्दै दुधियाभारको एरियामा भन्डारण भएको थियो ।
छापामारीमा पहिले पुगेका सशस्त्र प्रहरी अधिकारीहरुमाथि कुनै कारबाही नभएको र पछाडी पुग्ने र निर्देशनअनुसार काम गर्ने र काम गर्दाको अवस्थाको भिडियोसमेत बनाएको अवस्था कारवाहीको सिफारिस गरिएको आशंका रहेको छ ।
सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले डीएसपी लामालाई मुख्यालयमा तानिएको र अनुसन्धान भइरहेको बताएका छन् । ‘उहाँलाई मुख्यालयमा बोलाइएको छ, अन्य विषय के हो मलाई जानकारी छैन’, सह प्रवक्ता थापाले भने ।