वीरगन्ज । वीरगन्ज महानगरपालिका–२० का वडावासी नौ वर्षदेखि अलपत्र परेको सडकका कारण दैनिकीमा ठूलो सास्ती खेपिरहेका छन्। सघन शहरी तथा भवन निर्माण आयोजनाको लापरवाहीका कारण आवागमन अवरुद्ध हुनुका साथै धुलो–धुवाँ र फोहोरले स्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको स्थानीयवासीको गुनासो छ।
वडा अध्यक्ष रामकिसोर सिंह परागले आयोजनाको गैरजिम्मेवारीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै भने, “सडक खनेर वर्षौंदेखि अलपत्र पारेको छ। यसले वडावासीलाई हैरानी मात्र होइन, स्वास्थ्यमा समेत ठूलो जोखिममा पारेको छ। अब ढिलाइ सह्य हुने छैन।” उनले सडकमा जमेको फोहरपानीका कारण टाइफाइड, हैजा जस्ता रोग फैलिने उच्च सम्भावना रहेको बताउँदै सम्बन्धित निकायको मौनता खेदजनक भएको बताए।
यसैबीच वडा कार्यालयले मंगलबार पहिलो चरणमा सघन शहरी तथा भवन निर्माण आयोजनालाई ज्ञापन पत्र बुझाएको छ। साथै जिल्ला प्रशासन कार्यालयलाई समेत बोधार्थ पत्र पठाइएको वडा अध्यक्ष परागले जानकारी दिए।
उनले चेतावनी दिंदै भने, “यदि सडक निर्माण र व्यवस्थापन तत्काल अघि बढाइएन भने वडावासीहरू आन्दोलन गर्न बाध्य हुनेछन्।”
स्थानीयवासीहरूले समेत सम्बन्धित निकायलाई दबाब दिँदै तत्काल प्रभावकारी कदम चालेर सडक सञ्चालनमा ल्याउन माग गरेका छन्।