बिरगंज । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघद्वारा शिक्षा विकास तथा समन्वय इकाई पर्सामा धर्ना सहित ध्यानाकर्षण पत्र बुझाइएको छ।नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवको अध्यक्षतामा शिक्षा विकास तथा समन्वय इकाई पर्सामा दिउसो १ बजेदेखि ३ बजेसम्म धर्ना दिइएको र धर्ना पश्चात इकाई प्रमुख हरि राउतलाई ध्यानाकर्षण पत्र बुझाइएको महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी दिए।
१३ गते देश भरीका स्थानीयतहमा धर्ना सहित ध्यानाकर्षण पत्र बुझाइएको र आज देशको ७७ वटै जिल्लामा २ घन्टा धर्ना दिंदै इकाई प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने केन्द्रीय निर्देशन अनुसार आफूहरुले पनि शिक्षा विकास तथा समन्वय इकाई पर्सामा धर्ना दिई ध्यानाकर्षणपत्र बुझाइएको अध्यक्ष यादवले जानकारी दिए। काठमाडौमा गत चैतदेखि २९ दिनसम्म सडक आन्दोलन गरेका शिक्षकहरुले सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऎनको विरुद्धमा प्रथम चरणको आन्दोलन अन्तर्गत आजको कार्य सम्पन्न गरिएको पनि अध्यक्ष यादवले जानकारी दिए।
नेपाल शिक्षक महासंघसँग बारम्बार नेपाल सरकारले सम्झौता गरेको र गत बैशाख १७ गते ९ बुँदे सहमति गरी आन्दोलन स्थगित गगाइएता पनि प्रतिनिधि सभाको शिक्षा,स्वास्थ तथा सूचना प्रविधि समितिले महासंघको सम्झौतालाई बेवास्था गरी प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयकको मस्यौदा पेश गरेकाले अब आन्दोलनको विकल्प नभएकाले आन्दोलनमा उत्रिनु परेको पनि अध्यक्ष यादवले बताए ।
अबको आन्दोलन बिगतका भन्दा पनि कडा हुने गरी तयारी भइ रहेको समेत अध्यक्ष यादवले जानकारी दिए।
धर्ना तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा पर्साका १४ वटै पालिकाका प्रतिनिधि शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण महासंघ पर्साका सचिव बिनोद गिरीले गरेका थिए।