रौतहट । नेपाल प्रहरीको अपराध तथ्याङ्कलाई केलाउने हो भने काठमाडौं उपत्यकापछि सबैभन्दा बढी मधेस प्रदेश देखिन्छ । अपराधका विविध श्रृंखलालाई हेर्ने हो भने कर्तव्य ज्यानका घट्नाहरु झन बढी रहेका छन् । अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा अपराधका घट्नाले सर्वसाधारणलाई समेत त्रसित बनाएको छ ।
यही क्रममा २०८२ भदौ ८ गते बिहान रौतहटको गौर नगरपालिकाको वडा नं ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेशभित्र महिलाको शव भेटिएको सन्दर्भ हेर्ने हो भने अपराधमा युवा पुस्ताको संलग्नता यथावत् छ । प्रेम सम्बन्धमा एक अर्काप्रतिको समर्पण अर्को कारण बन्दै गएको छ । रौतहटको त्यो घट्नालाई आधार मान्ने हो भने अपराध गरिसकेपछि अपराधीले आफै आत्मदाह गर्नुले कारणलाई समेत अनुसन्धान गर्नबाट रोक्ने अवस्था सिर्जना भएको छ । प्रहरीको अनुसन्धानपछि प्रेमी पुरुषले रौतहट माधव नारायण–६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको हत्या गरी शव सुटकेशमा हालेर फालेको पुष्टि हुन्छ।
अपराध गरिसकेपछि अपराधीले कतिसम्म गर्न सक्छ भन्ने अर्को तथ्य पनि सार्वजनिक हुन्छ । २४ घन्टा नबित्दै एक अधवैशे पुरुषको भिडियो सामाजिक सञ्जालभरि भाइरल भएपछि प्रहरीको ध्यान त्यता आकर्षित भयो। प्रहरीको अनुसन्धान पनि ती पुरुषमाथि केन्द्रीत भयो । ती पुरुषले भिडियोमा मृतक रुबी र आफू कक्षा १० पढ्दादेखि नै प्रेममा रहेको बताउँछन्। साथै उनले सर्लाही जिल्ला अदालत र भारतको सीतामढीस्थित अदालतमा प्रेम विवाह गरेको तर दुवै परिवारले उनीहरूको सम्बन्ध अस्वीकार गरेको जिकिर गर्छन्।
यसै क्रममा ती पुरुषले रुबीको हत्या आफैँले गरेको स्वीकार पनि गर्छन्। उनी भिडियोमा भन्छन्, ’रुबीलाई आमाले अरूसँग विवाह गराइन्, मसँग बस्न दिएनन्। अब म पनि बाँच्न चाहन्नँ।’ ती पुरुषले यति भन्दै आफैँमाथि आगो लगाएर आत्मदाह प्रयास गरे । प्रहरी पुग्दा उनी यस्तै अवस्थामा भेटिएका थिए। यसपछि प्रहरीले पासवानको उद्धार गरेर उपचारका लागि काठमाडौं ल्यायो । तर काठमाडाैं ल्याएको भोलिपल्ट नै अत्यधिक जलनका कारण भदौ ११ गते उनको ज्यान गयो ।
यो घटनाले फेरि पनि मधेस प्रदेशमा हुने कर्तव्य ज्यानका अपराधलाई डरलाग्दो रूपमा प्रस्तुत गरेको छ। मधेस प्रदेशमा हुने अपराधका यस्ता घटनाले सिङ्गो देशलाई नै त्रासमा राख्ने गरेको छ। तराईका आठ जिल्लामा हुने यस्ता धेरै अपराधहरू प्रेम, विवाह र दाइजो प्रथा प्रमुख कारण मानिन्छन्। तर पछिल्लो समय कर्तव्य ज्यानका घटनाका स्वरूप बदलिएको देखिन्छ। जसलाई प्रहरीले विभिन्न तरिकाबाट अनुसन्धान गर्दै आएको छ।
एक सातामा तीन अपराध
यही भदौ २ मा व्यापारी उपेन्द्रकुमार भगतको शव रहस्यमय अवस्थामा फेला परेको थियो। सप्तरी खडक नगरपालिका–७ निवासी व्यापारी भगतलाई आर्थिक लेनदेनको विवादपछि अपहरण गरी हत्या गरिएको थियो। खडक नगरपालिका–७ निवासी भगत गत असार २५ गतेदेखि बेपत्ता थिए। परिवारले आर्थिक लेनदेनको विवादमा अपहरणपछि हत्या भएको आरोप लगाएको छ। प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ। त्यसैगरी भदौ ४ मा गौर नगरपालिका ५ यमुनामाई गाउँपालिका–५ का अब्दुल लतिफ मियाको २२ वर्षीय छोरा सहाबुद्दीन मियाको हत्या भयो। मियालाई गौर नगरपालिका–३ का नन्दु रामका २० वर्षीय छोरा सनोज रामले चक्कु प्रहार गरी हत्या गरेका थिए। मिया र हत्या गर्ने राम दुवै जना लागुऔषध सेवनकर्ता भएको प्रहरीको अनुसन्धानले बताएको छ। पुनः एक साता नबित्दै रुबीको हत्याले मधेसमा नयाँ तरङ पैदा भएको छ।
माथि उल्लेख गरिएका कर्तव्य ज्यानका घटनाहरू प्रतिनिधि घटना मात्र हुन्। प्रहरीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशमा कर्तव्य ज्यानका ९७ वटा घटनाहरू घटेका छन्। मधेसमा रहेका आठ जिल्लामा कर्तव्य ज्यानका ९७ घटना हुनुमा विविध कारणहरू रहेको प्रहरी बताउँछ। तर यसअघिका वर्षहरूमा भने कर्तव्य ज्यान अपराधका घटना धेरै भएको देखिन्छ। प्रहरीकै तथ्याङ्कलाई केलाउँदा आर्थिक वर्ष २०८०/८१ मा एक सय २७ वटा कर्तव्य ज्यानका घटना भएका थिए भने आर्थिक वर्ष २०७९/८० मा एक सय ८ वटा घटनाहरू घटेका थिए।
प्रहरीको तथ्याङ्क अनुसार विगतका आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा घटनाको संख्यामा कमी आए पनि घटनाको प्रकृति भने फरक हुँदै गएकाले अपराधको दायरा फराकिलो देखिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्बेदीले बताएका छन्। ‘हाम्रो तथ्याङ्कलाई हेर्दा विगतका आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा आपराधिक घटना कम भएका छन्,’ उनले भने, ’हामीले यस्ता घटनाहरू कम गर्नका लागि प्रभावकारी अनुसन्धान, कारबाही तथा निगरानीमा भरपुर ध्यान दिएका छौँ।’
कुनै समय धेरै पुरुषहरू अपराधमा संलग्न देखिए पनि अहिले महिलाहरूको संख्यामा वृद्धि भएको छ। जसका कारण सम्बन्धमा रहेका केटाकेटीले इमोशनल ब्याकमेल गर्दा अपराध बढेको डिआइजी चतुर्बेदी बताउँछन्। उनी भन्छन्, ’पहिलेका घटनामा केटा धेरै संलग्न देखिन्थे तर अहिलेका घटनामा महिलाहरूको समावेश पनि उत्तिकै भएको देखिन्छ।’ उनका अनुसार कर्तव्य ज्यानका घटना हुनुमा भावनात्मक रूपले कमजोर हुनु, विवाहहेत्तर सम्बन्ध बनाउनु, धेरै जनासँग सम्बन्ध कायम राख्नु तथा अत्यधिक आवेशमा आएर अपराध गर्नु हो।
अपराधका प्रकृति र स्वरूप परिवर्तन भएसँगै प्रहरीले अपराध नियन्त्रण कार्य योजनामार्फत काम गर्दै आएको छ। प्रहरी प्रधान कार्यालय नक्सालबाट कार्य सम्पादन सम्झौता लागु भएसँगै अपराध न्यूनीकरण हुनेमा आशा गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चतुर्बेदीले बताए । ’क्राइम एक्सन प्लानअनुसार लामो समयदेखि काम गर्दै आएका छौँ। नेपाल प्रहरीको रणनीतिक कार्य योजना लागु गरेर अपराध न्यूनीकरणमा सहयोग हुन्छ,’ उनले भने। यस्तै समाजलाई उत्तरदायी बनाउनु पर्ने, परामर्शदाताको सहयोग लिनुपर्ने, समाजमा रहेका स्टेक होल्डरहरूबाट नैतिकताको पाठ अगाडि बढाउनु पर्ने र अधिकारसँगै दायित्व पूरा गर्न सके अपराध कम हुन सक्ने उनको भनाइ छ।
सम्भार:नागरिक दैनिक